गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर आम्दानी गर्ने योजना स्थानीयको छ। चिमखोलाबाट बिस्तारै हिँड्दा दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ।
म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ। स्थानीयले चिमखोलाबाट पात्लेखेत–जसलाङ–खोलाखर्क–सिसर्का–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन्।
समुद्री सतहबाट तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको स्थानीय टीका पुनले जानकारी दिए। “गोठालाले लेकबेँसी गर्न प्रयोग गरेको बाटो भएर सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ,” उनले भने, “गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौँ।”
चिमखोलाबाट हिँड्न सक्ने एक दिन र बिस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ। केहीवर्ष अघिसम्म अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्थे।
पदमार्ग र सोवाङ धुरीको प्रचार–प्रसारका लागि दृश्यावलोकन केन्द्र स्थापना गरिएको स्थानीय मण्डली क्लबका अध्यक्ष प्रवीन बुढाले बताए। “प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ,” उनले भने, “पूर्वाधार निर्माणमा पहल, प्रचार–प्रसार र प्रवर्द्धनमा जुटेका छौँ।”
संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृश्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो। सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनासलु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।
बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताए। सोवाङ धुरी जाने पदमार्गमा पर्ने जंगलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उनले बताए। सोवाङ धुरीबाट रघुगंगा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ।
व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले बन्दोबस्तीका सामानसहित जानुपर्छ। सोवाङ धुरी जाने पर्यटक नजिकैको ओडारमा बास बस्ने गरेका छन्। आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा संकेत चिह्न बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताए।
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धवलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गायत्री मन्दिरबाट शुरू भएर भगवती–रुइसे–भेडीओढार–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग छ। मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन्।
आधार शिविरबाट बाँझोबुकी–कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगंगा नदीको किनार नै किनार हुँदै संगुरथला भएर कुइनेमंगलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्नेगरी दुईवटा पदमार्ग सञ्चालनमा रहेको रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताए।
“हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ। अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ,” उनले भने, “अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन। थप बजेटको आवश्यकता छ।”
टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।
यस पदमार्गले म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायत ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
