दुग्ध विकास संस्थानले साउन १५ देखि दूधको पैसा नदिएको किसानले बताएका छन्। माघ तेस्रो सातासम्म पनि भुक्तानी नपाए सडकमा उत्रिने उनीहरूले बताएका छन्।
फिक्कल– इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधान गरिदिन अनुरोध गरेका छन्। पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो किसानको छ।
इलाम–५ का किसान वीरबहादुर अधिकारीले साउन १५ देखि दूधको पैसा नपाएको बताए। “साउनयता दूधको भुक्तानी भएको छैन। पाउनुपर्ने रकम नपाएपछि परिवार चलाउन धौधौ भइसक्यो,” उनले भने, “हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन। नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ।”
सोही ठाउँका अर्का किसान गंगाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र संघीय सरकार मिलेर भुक्तानी गर्न माग गरे। दुग्ध उत्पादक किसानका लागि राहत ‘प्याकेज’ ल्याउन उनले नगरपालिकासँग माग गरे।
इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईँले दूध लिन दुग्ध विकास संस्थान (डीडीसी)को गाडी आउन छोडेकाले दूध बिक्री हुन छोडेको बताए। “डीडीसीको गाडी दैनिक दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो। तर आजकल दुई–तीन दिनमा मात्र आउँछ। नआएको दिन दूध बिक्री हुँदैन”, उनले भने। जिल्ला दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष होम कट्टेलले भदैदेखि किसानले दूधको भुक्तानी नपाएको गुनासो गरे। माघ तेस्रो सातासम्म पनि दूधको भुक्तानी नपाए सडकमा उत्रिने चेतावनीसमेत दिए।
“किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दूधको भुक्तानी पाएका छन्। दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो,” उनले भने, “किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस्।” डीडीसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार ५६० लिटर दूधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताए। डीडीसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार ६१० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार ४०० लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार ४०० लिटर दूधको भुक्तानी दिन बाँकी छ।
इलाम उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका व्यवसायी चेतनाथ पौड्यालले एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताए। “करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमै राख्न बाध्य छौँ। अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्त्वमा परिणत हुन्छ। नष्ट गर्नुको विकल्प रहँदैन,” उनले भने, “यसबाट हामीले करोडौँको क्षति बेहोर्नुपर्छ।” एक लिटर दूध उत्पादनमा ५६ उत्पादन लागत लाग्ने भएकाले दूधको मूल्य घट्दा किसान नै मर्कामा परेको उनको भनाइ छ।
नगरप्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताए। “उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्या छन्। ती समस्याबारे नगरपालिका गम्भीर छ,” उनले भने, “किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैँ प्रतिबद्ध छ।”
इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दूध उत्पादन हुने गरेको पशु शाखाका प्रकाश लुइँटेलले बताए। उनका अनुसार दैनिक दुई हजार लिटर दूध डीडीसीमार्फत विराटनगर जाने गरेको छ। बाँकी दूध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मिठाई बनाउने उद्योगमा खपत हुने गरेको छ।
जिल्लामा भने निजी क्षेत्रमा दैनिक ५३ हजार लिटर हाराहारीमा दुग्ध खपत हुँदै आएको छ। निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दूध बिक्री गर्दै आएका छन्। इलाममा १८ वटा चिज कारखाना, १५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मिठाई बनाउने उद्योग रहेको सरकारी तथ्यांक छ।
इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध पदार्थ उत्पादन हुने गरेको छ। होलिस्टिन र जर्सी गरी यहाँ ३३ हजार ३७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
