एमालेको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्रीले भने– बजेटलाई जनमुखी बनाउँछौँ

एमालेले उठाएका विषय मध्यपहाडी क्षेत्रका जनता, राजनीतिक दल र सरकारको समेत मुद्दा भएकाले सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्। 

बालुवाटारमा बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएको बताए। 

सो अवसरमा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भन्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा जनताले राखेका माग समेटेर सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको थियो।

मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणपत्रले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने प्रधानमन्त्री दाहालको भनाइ थियो।

उनले ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषय सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

सो अवसरमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकांक्षा र सम्भावना बुझ्न अभियानले महत्त्वपूर्ण योगदान पुगेको बताए।