मेलम्चीको बाढीले प्रतिघरधुरी ७० लाख रुपैयाँ क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

वातावरणविद प्रवीणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो।

फाइल तस्वीर।

काठमाडौँ– मेलम्चीमा गएको बाढी र पहिरोले करिब एक घरधुरी बराबर ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक भएको छ। 

वातावरणविद प्रवीणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो।

दुई पालिकाका १२० वटा घरधुरी सर्वेक्षण, पालिकास्तरीय छलफल र यससँग सम्बन्धित १४ जनासँग सूचना संकलन गरेर रिपोर्ट तयार पारेको पराजुलीले बताए। 

क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि अनुसन्धानमा समावेश गरिएको थियो। पालिकाको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिब ७० लाख बराबरको आर्थिक क्षति भएको देखाएको उनले बताए। 

अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ। प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताए।

“महत्त्वपूर्ण पक्ष जुन नगदमा मूल्यांकन गर्न सकिँदैन। जसलाई हामी गैरआर्थिक क्षति भन्छौँ। मानसिक समस्या हुने, संस्कृति र पर्यटन सम्बन्धी क्षति हुने र मान्छेको जीवनमा प्रत्यक्ष असर पार्ने कुरा पनि हामीले यसमा ल्याउने जमर्को गरेका छौँ,” उनले भने, “हामीले सोधिएकामध्ये ८५ प्रतिशतभन्दा बढिले गैरआर्थिक क्षतिबाट गुज्रनुपरेको बताउनुभएको छ।”

वातावरणविद् प्रवीणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए। मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिब ६५ अर्ब बराबर आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो। 

त्यसैको आधारमा आफूहरूले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको उनको भनाइ छ। मेलम्चीमा गएको बाढीबाट भएको हानी नोक्सानीबारे पहिलो पटक बृहत् अध्ययन सार्वजनिक भएको हो।