प्रधानमन्त्री कप: कोशीको सातौँ हार, कर्णालीको तेस्रो जित

कर्णालीले कोशीलाई ६ विकेटले पराजित गरेको छ। १५१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।

काठमाडौँ– प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले तेस्रो जित हात पारेको छ।

 मंगलबार सम्पन्न आफ्नो छैटौँ खेलमा कर्णालीले कोशीलाई ६ विकेटले पराजित गरेको हो। कोशीको भने यो सातौँ हार हो। कोशीले दिएको १५१ रनको लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।

कर्णालीका अर्जनु घर्तीले अविजित रहँदै सर्वाधिक ५० रन बनाए। जारी प्रतियोगिता उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले मधेश प्रदेशविरुद्ध ५८ रनको इनिङ्स खेलेका थिए।

ओपनर वपिन शाही २८, निश्चल रावल २१ र कप्तान रवीन्द्र शाहीले १२ रन बनाए। हिमान्शु शाही भने २४ रनमा अविजित रहे।

कोशीका हेमन्त राईले सर्वाधिक ३ विकेट लिए। कमल खत्रीको नाममा भने १ विकेट रह्यो।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कोशीले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

कोशीका तीन ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सके। सुजन थपलियाले कोशीका लागि ७३ रनको इनिङ्स खेले। उनले ७३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे। जारी प्रतियोगितामा सुजनको यो दोस्रो अर्धशतक हो। उनले बागमतीविरुद्ध ५९ रनको इनिङ्स खेलेका थिए।

उनीबाहेक सौजन घिमिरेले १२ र आइस भट्टराईले ११ रन बनाए। कोशीका अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन।

कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए। प्रकाश जोशीले ३ विकेट लिँदा दिवस पुनको नाममा २ विकेट रह्यो।

जितसँगै कर्णालीले ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ।