आगामी आर्थिक वर्षको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुन्छ : प्रधानमन्त्री

बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने व्यवस्था गर्नुपर्ने प्रधानमन्त्री दाहालको जोड छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धमा भएको बैठकमा प्रधानमन्त्रीले अधुरा आयोजना पूरा गर्ने गरी आवश्यक तयारी गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रधानमन्त्री दाहालले पुराना योजना अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराएका हुन्।

“विकास योजनाबद्ध हुन्छ र हुनुपर्छ। बिनासम्भाव्यता अध्ययन, बिनाउपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने विडम्बना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ। विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ,” उनले भने।

अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको भए पनि दबाबमुक्त भइनसकेको उनको भनाइ थियो। विकास निर्माणका काममा थुप्रै बेथिति रहेको भन्दै प्रधानमन्त्री दाहालले भने, “यसपटक परम्परागत सोच र ढाँचाबाट माथि उठौँ। सबैलाई खुशी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक ‘ब्रेक–थ्रु’ गर्नैपर्छ।”

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक रहे पनि राजस्व संकलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए। सो अवसरमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र सो मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए।

बैठकमा प्रधानमन्त्री दाहालले विभिन्न १६ बुँदे निर्देशन दिए। उनले आगामी आर्थिक वर्ष र आगामी तीन वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिने प्रबन्ध गर्ने व्यवस्था गर्नुपर्ने बताए। 

सिलिङलाई अन्तिम रूप दिनुअघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले यही माघ २० गतेसम्म सबै मन्त्रालयसँग घनीभूत छलफल गरिसक्नुपर्नेछ। मन्त्रालय/निकायगत छलफल सकिएपछि माघ २५ गतेभित्र सबै मन्त्रालय/निकायसँग सामूहिक छलफल गरी राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्रोतको अवस्थाबारे छलफल गर्नुपर्नेछ।

यस्तै, हाल कार्यान्वयनमा रहेका आयोजना सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्नुपर्नेछ। प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनामा स्वीकृत खरिद गुरुयोजनाअनुरूप बजेट विनियोजन हुने सुनिश्चित गर्नुपर्ने बताए। बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने व्यवस्था गर्नुपर्ने उनको जोड छ।

पूर्वतयारी पूरा भएका, आयोजना बैंकमा प्रविष्ट भएका र प्रतिफल दिने आयोजनाका लागि मात्र बजेट राख्ने, प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि मन्त्रालयमा बजेट राखी आर्थिक वर्षको बीचमा मन्त्रालयहरूले सशर्त अनुदानका रूपमा प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति बन्द गर्नैपर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। 

आयोजना वर्गीकरण मापदण्ड विपरीत हुने गरी संघीय तहमा कार्यक्रम तथा आयोजना नराख्ने, बजेट छर्ने परिपाटी पूर्णरूपमा अन्त्य गर्ने, संसद्मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा मन्त्रालय/निकायगत बजेट सिलिङसमेत अनुसूचीमा राख्ने प्रबन्ध गर्न प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराए। 

बजेटका सिद्धान्त र प्राथमिकतामा संसद्मा उठेका विषय र आम नेपालीले दिने सुझावसमेत समावेश गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बजेट कार्यक्रम तयार गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजस्व प्रणालीको पुनःसंरचना गर्ने व्यवस्था गर्न निर्देश गरे। उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी राजस्व प्रणाली निर्माण गर्ने, राजस्वको दायरा बढाउने, तयारी वस्तुको भन्दा कम हुने गरी कच्चा पदार्थको भन्सार महसुल कायम गर्ने, कर संरचनामा परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए।  

उनले बजेट निर्माण गर्दा देहायका विषयमा ध्यान दिने विषय समेत स्पष्ट रूपमा मार्गनिर्देशन गरेका छन्। उनले साधारण खर्चमा मितव्ययिता अपनाउने, विकास खर्च बढाउने, बाह्य तथा आन्तरिक ऋणको उपयोग विकास खर्चका लागि मात्र गर्ने, सम्भव भएमा बजेट उपशीर्षकगत स्रोत खुलाउँदा आन्तरिक ऋणको समेत उल्लेख गर्ने, आयोजना विशेष बन्ड जारी गर्ने तयारी गर्ने, प्राविधिक जनशक्ति उत्पादन र उपयोगका लागि बजेट विनियोजन गर्ने प्रबन्ध गर्नुपर्ने बताए। 

त्यस्तै, कृषिलाई प्राथमिकता दिने, अनुदानलाई एकीकृत गर्ने, उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, कृषिलाई एउटा मन्त्रालयको रूपमा मात्र नभई क्षेत्रको रूपमा हेरी सम्बद्ध मन्त्रालय समेतको कार्यक्रमबीच अन्तरसम्बन्ध हुनेगरी कार्यक्रम तयार गर्ने, औद्योगिकीकरणमा जोड दिने, निजी क्षेत्रलाई अधिकतम सहभागी गराउने कार्यक्रम तय गर्नुपर्ने उनको भनाइ छ। 

विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयलाई पूर्ण पहुँच दिई मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिने, अर्थ मन्त्रालयले आफैँ आयोजना तथा कार्यक्रम थप्ने काम पूर्णरूपमा बन्द गर्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ। 

यसैगरी, अपेक्षित प्रतिफल र उपलब्धिमा असर नपर्ने गरी कानूनबमोजिम कार्यक्रम संशोधन र खर्च शीर्षकगत रकमान्तरको अधिकार मन्त्रालयलाई नै दिने, कार्यक्रम संशोधन र रकमान्तरको एएबीआईएसमा प्रविष्ट गर्ने सुविधा मन्त्रालयलाई उपलब्ध गराइनुका साथै एउटा कार्यक्रम वा आयोजनाका लागि एकपटक कार्यविधि/निर्देशिका निर्माण गरिसकेपछि प्रत्येक वर्ष पुनः निर्माण गर्नुनपर्ने व्यवस्था गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो।