एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

उच्च अदालत पाटनले एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

काठमाडौँ– उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले गत मंसिर २१ गते न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नु/नगराउनु भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा दिएको अल्पकालीन अन्तरिम आदेशलाई मंगलबार निरन्तरता दिएको हो।

“स्वामित्व परिवर्तनसम्बन्धी विषय विचारणीय देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म यस अदालतबाट गत मंसिर २१ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ” आदेशमा भनिएको छ।

मलेसियाको कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई नेपाली मूलका सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो।

उक्त विषय सार्वजनिक भएपछि गोकुलबहादुर रोकायाले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए।