एशियन कप: जितविहीन हुँदै बाहिरियो भारत

समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले पराजित भएसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।

काठमाडौँ– भारत जितविहीन हुँदै एशियन कपको समूह चरणबाट बाहिरिएको छ। 

मंगलबार साँझ भएको समूह चरणको अन्तिम खेलमा सिरियासँग १–० ले पराजित भएसँगै भारत जितविहीन बनेको हो। 

कतारको अल–बैट स्टेडियममा भएको खेलमा सिरियाका ओमार ख्रिबिनको ७६औँ मिनेटमा निर्णायक गोल गरे। उक्त खेलमा भारतले जित हासिल गर्न सकेको भए अन्तिम १६ मा पुग्ने सम्भावना जीवित रहन्थ्यो।

भारतलाई हराएको सिरियाको पनि अघिल्लो चरणको टुंगो समूह चरणको अन्तिम खेलपछि मात्रै लाग्नेछ। 

यसअघि भारत अस्ट्रेलियासँग २–० र उज्बेकिस्तानसँग ३–० ले पराजित भएको थियो। यस्तै सोही समूहको अर्को खेलमा अस्ट्रेलिया र उज्बेकिस्तान १–१ को बराबरी खेल्दै अन्तिम १६ मा पुगेका छन्। 

एशियन कपमा बुधबार हङकङ र प्यालेस्टाइन तथा इरान र यूएईबीच खेल हुँदैछ।