शमशेर भन्छन्– गोठालाको साथी नै गोठाला बन्ने न हो। आफ्नै दामलीलाई गोठमा भेट्टाएँ। मित लगायौँ। आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ।
म्याग्दी– गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचनले गोठमै मितेरी साइनो गाँसेका छन्।
जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गरिरहेका तुलाचनसँग मित लगाएका हुन्।
कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका घले आठ महिनाअघि म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिएका थिए। भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताए।
“यहाँ आउँदा कोही आफन्त थिएनन्। गोठालाको साथी नै गोठाला बन्ने न हो। आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ,” घलेले भने। घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो।
अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन्। गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उनीहरू सहकार्य गर्छन्। घलेले काम गर्ने भेडीगोठमा नियमित रूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिन्छन्।
वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताए। “हामीलाई गोठले नै साथी बनायो। उनी कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको?”, तुलाचनले भने। तुलाचनको गोठमा नौवटा भैँसी छन्।
दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गरेका छन्। भैँसीगोठबाट तुलाचन नियमित दूध लगेर भेडीगोठ पुग्छन्। भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्छन्।
बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताए।
नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो। तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभावका कारण मित/मितिनी साइनो हराउँदै गएको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
