लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने वा विद्यार्थी फेल हुनेछन्।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। 

बोर्डले यस वर्ष  अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिए। “कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक हुन्छ,” उनले भने, “यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ।”

उनका अनुसार अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने र विद्यार्थी फेल हुनेछन्। निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ। यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था छ।

यस वर्षको एसईईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ। 

यसैबीच, बोर्डले परीक्षाको तयारी तीव्र पारेको छ। परीक्षाका लागि आवश्यक पर्ने उत्तर पुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी शुरू गरेको बोर्डले जनाएको छ।