शहीद सप्ताह शुरू, १ हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाइने

पहिलो दिन टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीद शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ। 

काठमाडौँ– मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका शहीदको सम्झनामा बुधबारदेखि शहीद सप्ताह मनाउन शुरू गरिएको छ। 

पहिलो दिन टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ। 

शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो। सोही दिनको स्मरणमा उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुचि राख्ने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गरेको योगदान अविस्मरणीय भएको बताइन्। 

“शुक्रराज शास्त्रीले नेपाल र नेपाली भाषामा कलम चलाउनुहुन्थ्यो। नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि उहाँ नै हुनुहुन्छ,” उनले भनिन्, “आफ्नो जीवन सारा नेपालीका लागि हो भनेर उहाँले जसरी आफ्नो जीवन दिनुभएको छ। त्यसलाई स्मरण गर्न चाहन्छौँ।” 

यसैगरी, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। सात दिन शहीद सप्ताह मनाइएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ।

लामो समयदेखि शहीदको योगदानको कदर गर्दै सप्ताहव्यापी कार्यक्रममा कदरस्वरूप स्मृतिसभा गरिँदै आइएको छ।