राष्ट्रपतिको दाैडमा ट्रम्प: न्यु ह्याम्पसायरको रिपब्लिकन प्रारम्भिक चुनावमा विजयी

न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जितेर ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने आफ्नो दाबीलाई बलियो बनाएको छ। 

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जित हासिल गरेका छन्। 

रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी दिँदै आएकी उनकी प्रतिद्वन्द्वी भारतीय मूलकी निक्की हेलीले उनलाई टक्कर दिए पनि पराजित गर्न भने सकिनन्। न्यु ह्याम्पसायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधिमध्ये ट्रम्पले ११ प्रतिनिधि र प्रतिद्वन्द्वी हेलीले ८ प्रतिनिधि प्राप्त गरेका छन्।

यो हारपछि पनि निक्की हेली अझै निराश छैनन्। निक्की हेलीले सोचेभन्दा राम्रो प्रदर्शन गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्। उनी रिपब्लिकन पार्टीमा ट्रम्पको विरुद्धमा उभिएको एक मात्र उम्मेदवार हुन्। हेलीले यो लडाइँ अझै समाप्त नभएको बताएकी छन्। 

सबैको नजर रहेको रिपब्लिकन प्रारम्भिकमा ट्रम्प विजयी हुनुले आगामी चुनावलाई थप सहज बनाएको अनुमान गरिएको छ। यसअघि ट्रम्पलाई अमेरिकाका दुई राज्य कोलोराडो र मेइनमा उम्मेदवार उठ्न दिइएको थिएन। उनलाई अघिल्लो राष्ट्रपति चुनावमा धाँधली गरेको आरोप लगाइएको थियो। 

तर ट्रम्प आउँदो राष्ट्रपति चुनावको लागि कस्सिकएर लागेका छन्। त्यहीक्रममा प्रारम्भिक चुनावका दौरान ह्याम्पसायरमा बलियो जित दर्ज गरेका हुन्। लोवा ककसपछि न्यु ह्याम्पसायर प्रारम्भिक चुनावमा जितेर ट्रम्पले नोभेम्बरमा हुने राष्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको उम्मेदवार बन्ने आफ्नो दाबीलाई बलियो बनाएको छ। 

ट्रम्प रिपब्लिकन पार्टीका एक मात्र उम्मेद्वार हुन् जसले न्यू ह्याम्पसायर प्रारम्भिक चुनावमा तीन पटक जितेका छन्। यो प्रारम्भिक निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने भन्ने विश्वास गरिन्छ। यो जितसँगै ट्रम्पले अब नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा जो बाइडेनलाई कडा प्रतिस्पर्धा दिन सक्नेछन्।