शेयर बजार १०.२५ अंकले घटेर २०८८ विन्दुमा

समग्रमा बजार घटेको दिन चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको शेयरमा भने सकारात्मक सर्किट लागेको छ।

काठमाडाैँ– ६ दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्से बुधबार पनि १०.२५ अंक घटेको छ। आज नेप्से ०.४८ प्रतिशतले घटेर २०८८.०४ विन्दुमा झरेको छ। 

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा बुधबार ३११ कम्पनीको ९० हजार २१० पटकको कारोबारमा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ बराबरको १ करोड १० लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, गुराँस लघुवित्त र समाग लघुवित्तको शेयरमूल्य ६.०८ प्रतिशतले बढेको छ।

तेह्रथुम पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, एनएमबी माइक्रोफाइनान्सको शेयरमूल्य ६.२० प्रतिशत तथा सीवाईसी नेपाल लघुवित्तको शेयर ५.१४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, ङादी ग्रुप पावरको १३ करोडभन्दा बढी र अरुण काबेलीको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये बैंकिंग र म्युचुअल फन्ड उपसमूहको  परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।