बैंकहरूको ब्याजदर एकल अंकमा आउनसक्छ: गभर्नर अधिकारी

राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरूको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको उनले बताए।

काठमाडाैँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा एकल अंक (सिंगल डिजिट)मा आउने बताएका छन्।

बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरूको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए।

उनले बैंकहरूले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको भन्दै आगामी दिनमा कर्जा प्रवाह बढ्ने अपेक्षाले राष्ट्र बैंकले केही नीतिगत दरहरू घटाएको अवस्था रहेको बताए। अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरू सहज बनाउँदै गएको उनको भनाइ छ।

उनले नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको भन्दै तत्कालका लागि नेपाली बैंकहरू ससाना संकटमा अफ्ठ्यारोमा नपर्ने बताए। बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रूपमा विकास गर्दै गएको उनको भनाइ छ। यस्तै, उनले बैंकहरूमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको बताए। 

"अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको छ। वाह्य क्षेत्रको सुधार, बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरूमा ठूला समस्या देखिँदैन त्यसमा पनि सुधार हुँदै गएको छ। राष्ट्रिय वाणिज्य बैंकको कोर पुँजी १० प्रतिशतभन्दा माथि छ। खराब कर्जा ३.५ प्रतिशत छ। प्रिभिजनमा कहीँ कतै सम्झाैता भएको देख्दैनौँ," उनले भने "अर्थतन्त्रमा भएको सुधारको आधारमा राष्ट्र बैंकले नीतिहरूमा सुधार गर्दै गएको छ। बैंकहरूमा तरलता अत्यन्तै राम्रो अवस्थामा छ। त्यसलाई हामी प्रयोग गर्नसक्छौँ। बैंकहरूको कर्जा माग वृद्धि हुने अपेक्षा छ। त्यहीअनुसार पोलिसी रेटहरू पनि घटाएका छौँ। अधिकांश कर्जाहरू बैंकले १०.२५ भित्र दिनु पर्छ। विस्तारै वाणिज्य बैंकहरूको कर्जा सिंगल डिजिटमा जाने अवस्था आएको छ।"

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताए। उनले राष्ट्र बैंकको नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने र अवस्था आगामी दुई/तीन महिनामा अर्थतन्त्र सुधारको अवस्था देखिने बताए।