युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान दुर्घटना, कम्तीमा ७४ जनाको मृत्यु

रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।

युक्रेनी युद्धबन्दी बोकेको रुसी सैन्य विमान दुर्घटना भएको छ। युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको हो। 

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन–७६ नामको यो सैन्य विमानमा ६५ युद्धबन्दीसहित करिब ७४ जना सवार थिए। सबैको मृत्यु भएको बीबीसीले जनाएको छ। उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन अन्य यात्रु पनि थिए।

सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा विमान तल ओर्लिरहेको र त्यसपछि बिस्फोट भएको देखिन्छ। 

ती युक्रेनी युद्धबन्दीलाई आदानप्रदानका लागि लगिएको बताइएको छ। रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।

एक रुसी सांसद तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीन वटा मिसाइल प्रहार भएको बताएका छन्। उनले यी क्षेप्यास्त्रहरू पश्चिमी देशहरूले युक्रेनलाई दिएजस्तै भएको दाबी गरेका छन्। 

कार्तपोलोभले आफूले यो जानकारी कहाँबाट पाएको बताएनन्, न त उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रदान गरे। ती ‘प्याट्रियट’ मिसाइल हुन् वा ‘आइरिस–टी’ हुन् भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए।