तराईमा हुस्सु, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

काठमाडौँ– नेपालमा केही दिनदेखि पश्चिमी वायुको सामान्य प्रभाव कायम छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दिउँसो, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहित पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा हल्का वर्षासमेत हुने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना पनि छ।

यसैगरी, राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।