स्वस्थानी व्रत शुरू, साँखुस्थित शालिनदीमा मेला

काठमाडौँको साँखुस्थित शालिनदीमा माधवनारायणको मेला पनि शुरू भएको छ। त्यहाँ स्नान एवं स्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन्।

काठमाडौँ– पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथावाचन बिहीबार शुरू भएको छ।

हिन्दू धर्मावलम्बी महिलाले एक महिना स्वस्थानी व्रत र माघ स्नान गर्छन्। पूर्णिमाको अघिल्लो दिनै हात गोडाका नङ काटी स्नान गरी यसको शुरूआत हुन्छ।

बिहान माघ स्नान गरी मध्यान्हमा महादेवको पूजा गरिन्छ। बेलुकी ‘स्कन्द पुराण’को केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको ‘स्वस्थानी व्रतकथा’ घर–घरमा सुन्ने र सुनाउने चलन छ। एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अंग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। 

“आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको पनि छ,” उनले भने, “यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।”

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको भट्टराईले बताए। यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ। 

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। बिछोडमा परेका नाग नागिनीको समेत व्रतपछि पुनर्मिलन भएको कथामा उल्लेख छ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक तथा सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठले बताए। 

यस अवसरमा साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला पनि शुरू भएको छ। “माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पुण्य कमाइने धार्मिक विश्वास छ। यो विश्वासमा प्रत्येक वर्ष यहाँ हजारौँ भक्तजन आउने गर्छन्,” इतिहासकार श्रेष्ठले भने