भरतपुरमा घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर विमानस्थल विस्तार गर्ने तयारी

भरतपुर विमानस्थलको एक हजार २०० मिटर लामो धावनमार्ग विस्तार गरेर एक हजार ५०० मिटर बनाउने योजना छ। 

फाइल तस्वीर।

चितवन– भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ।

विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसो मात्र सञ्चालन हुँदै आएका छन्। केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो।

भरतपुर महानगर प्रमुख रेनु दाहालले घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर धावनमार्ग विस्तार गर्ने सहमति भइसकेको जानकारी दिइन्। अहिलेको यो विमानस्थल निकै जोखिमपूर्ण मानिन्छ। प्रमुख दाहालका अनुसार विमानस्थल विस्तार गरेर धावनमार्ग एक हजार ५०० मिटर बनाइने छ। अहिले एक हजार २०० मिटर मात्रै छ। यससँगै ७२ सिट क्षमताका ठूला जहाज रात्रिकालीनसमेत उडान गर्न सकिने उनले जानकारी दिइन्। 

गत शनिबार भरतपुरको नयाँ सबुज गणमा भएको कार्यक्रममा रक्षामन्त्री पूर्णबहादुर खड्काले ब्यारेकमा रहेको ७० बिघा आठ कट्ठा चार धुर जग्गामध्ये १९ बिघा चार कट्ठा चार धुर विमानस्थल विस्तारका लागि दिनुपर्ने देखिएको बताएका थिए। यससँगै यहाँको केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिनेछ।  

केन्द्रमा साना ठूला गरी हाल ११० घोडा छन्। २०४१ सालदेखि केन्द्र सञ्चालनमा छ। यहाँ जन्मिएका घोडालाई सामान्य तालिम दिएर थप तालिमका लागि काठमाडौँ पठाउने गरिन्छ। प्रजनन केन्द्र स्थानान्तरण गरिए पनि सेनाको गण भने यही रहने जनाइएको छ।

धावनमार्ग र सडकका लागि थप जग्गा दिने तयारी गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जग्गाको सुनिश्चितता भएसँगै धावनमार्ग विस्तारको काम अघि बढ्ने जानकारी दिए। यो विमानस्थल २०१५ सालमा निर्माण भएर २०१८ सालदेखि सञ्चालन हुँदै आएको छ। 

विमानस्थलको हाल क्षेत्रफल ६२ बिघा छ। विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ। छोटो धावनमार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने अवस्था छ।