युद्धबन्दी बोकेको विमान युक्रेनले खसालेको रुसको आरोप

आईएल–७६ सैन्य विमान युक्रेनले खसालेको रुसको आरोप छ। विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए। 

तस्वीर: एपी

रुसले युक्रेनमाथि दर्जनौँ युक्रेनी बन्दीलाई बोकेको एक सैन्य यातायात विमान खसालेको आरोप लगाएको छ। 

बुधबार भएको दुर्घटनामा विमानमा सवार सबै (७४ जना)को मृत्यु भएको थियो। रुसी रक्षा मन्त्रालयका अनुसार आईएल–७६ सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोड प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो। 

विमानमा रुसको आक्रमणमा समातिएका ६५ युक्रेनी सैनिक, छ चालक दल र तीन ‘एस्कर्ट’ सवार थिए। खार्किभ सीमा क्षेत्रमा तैनाथ युक्रेनी सेनाले यातायात विमानमा दुई क्षेप्यास्त्र प्रहार गरेको भन्दै रुसले उक्त घटनालाई ‘आतंकवादी काम’ भनेको एएफपीले जनाएको छ।

उक्त दुर्घटना बुधबार बेलगोरोडको सीमामा बन्दी आदानप्रदानमा सहमति भएको केही घन्टाअघि भएको थियो। “स्थापित अभ्यासअनुसार आदानप्रदान गरिने युक्रेनी सैनिकलाई सैन्य यातायात विमानमार्फत बेलगोरोड विमानस्थलमा लगिँदैछ भन्ने युक्रेनी नेतृत्वलाई राम्रोसँग थाहा थियो,” रुसले भनेको छ। 

बन्दी आदानप्रदानका जिम्मेवार युक्रेनी जाँच अधिकारी दिमित्रो लुबिनेट्सले घटनाको अनुसन्धान गरिरहेको बताए।