केही व्यक्ति सामाजिक सद्भाव र एकता खलबल्याउन लागेका छन्: प्रधानमन्त्री

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु राज्यका सबै अंगका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन्। 

बिहीबार बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। अहिले केही व्यक्ति सामाजिक सद्भाव र एकता खलबल्याउन तथा राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको उनको भनाइ छ। 

“संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधीशको भूमिकासमेत महत्त्वपूर्ण रहन्छ,” प्रधानमन्त्री दाहालले भने, “विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा पूर्वन्यायाधीशहरूले आवाज उठाउनुभएको थियो। आगामी दिनमा पनि निरन्तर निगरानी गरिरहनुपर्ने आवश्यकता छ।” 

राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने उनको भनाइ छ। 

छलफलमा पूर्वन्यायाधीशहरूले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेका थिए।