रोग निको हुने विश्वासमा नदीमा डुबाउँदा बच्चाको मृत्यु

उनीहरूले नदीमा डुबाएपछि चमत्कार भई बच्चाको ज्यान बच्ने ठानेका थिए।

रक्त क्यान्सरबाट पीडित भएका एक ७ वर्षीय बालकलाई रोग निको हुने विश्वासमा नदीमा डुबाउँदा उनको ज्यान गएको छ। घटना भारतको हरिद्वारस्थित गंगा नदीमा भएको हो।

इन्डिया टिभीका अनुसार रोग निको हुने आशमा ती बच्चालाई लिएर उनको परिवार दिल्लीबाट आएको थियो। बुधबार बिहान १५ मिनेटसम्म ङ्याकेर तिनका बा आमा र काकीले नदीमा डुबाएका थिए।

उनीहरूले नदीमा डुबाएपछि चमत्कार भई बच्चाको ज्यान बच्ने ठानेका थिए। रबी सैनी नामका ती बच्चालाई नदीमा चोबेको यो घटना प्रहरी कार्यालयभन्दा केही मिटर परको दुरीमा भएको थियो।

बच्चालाई गंगामा डुबाइरहेको भिडियो सामाजिक संजालमा फैलिरहेको छ, जसमा बच्चाकी काकीले बच्चालाई ङ्याकिरहेकी छन् भने तिनका बाआमाले मन्त्र उच्चारण गरिरहेका छन्।

गंगामा बच्चालाई डुबाइरहेको देखेपछि आसपासका मानिसले यो कदम गलत भएको भन्दै बच्चालाई उद्धार गरी अस्पताल पुर्‍याएपछि डाक्टरले बच्चा जिउँदो नरहेको बताएका थिए।

प्रहरीले ती बच्चाका अभिभावकविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान गरिरहेको छ।