साउदी अरबमा ७० वर्षपछि पहिलो पटक मदिरा पसल खुल्यो

साउदीका तत्कालीन शेख अब्दुलअजीजले सन् १९५१ मा राजकुमारले रक्सी पिएर एक बेलायती कूटनीतिज्ञको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

७० वर्षमा पहिलो पटक साउदी अरबमा मदिरा पसल खुलेका छन्। यसलाई इस्लामिक राजतन्त्रको उदारवादतर्फको प्रगतिको अर्को पाइलाको रूपमा लिइएको छ।

कडा शरिया कानून पालना गर्ने इस्लामिक देश साउदी अरबमा केही समयअघिसम्म रक्सी पसलबारे कसैले कल्पना पनि गर्न सक्दैनथ्यो। तर पछिल्लो समय साउदी कडा कानूनका विषयमा लचिलो बन्दै गएको छ।

एक विदेशी कूटनीतिक अधिकारीको भनाइलाई उद्धृत गर्दै न्युज एजेन्सी एपीले अब रियादका पसलहरूमा रक्सी किन्न सकिने जनाएको छ। तर यी पसलहरू गैरमुस्लिम कूटनीतिज्ञहरूमा मात्र सीमित हुनेछन्। 

मदिरा पसलको बारेमा जानकारी दिने कूटनीतिज्ञका अनुसार रियादको रक्सी पसल शहरको कूटनीतिक क्वार्टर नजिकै छ। पत्रकारहरूसँग कुरा गर्दा ती अधिकारीले नाम नछाप्ने सर्त राखेका थिए किनभने रक्सी अझै पनि साउदी अरबमा संवेदनशील विषय हो।

साउदीका अधिकारीहरूले यस सम्बन्धमा कुनै टिप्पणी गरेका छैनन् तर सरकारी मिडिया कम्पनी 'साउदी रिसर्च एन्ड मिडिया ग्रुप'को अंग्रेजी अखबार अरब न्युजले हालै एउटा समाचार प्रकाशित गरेको छ, जसमा मदिरा बिक्रीको नियममा परिवर्तन भएपछि कूटनीतिज्ञहरूलाई सोधिएको थियो।

उक्तर रिपोर्टमा भनिएको छ कि नयाँ नियमहरूको उद्देश्य कूटनीतिज्ञहरूका लागि आयात गरिएका सामानहरूमध्ये मदिरा र विशेष वस्तुहरूको अनियन्त्रित आयातलाई रोक्नु हो। यो नयाँ नियम सोमबारदेखि लागू भएको हो। 

पछिल्ला केही वर्षहरूमा, राजकुमार मोहम्मद बिन सलमानले देशको छवि परिवर्तन गर्ने उद्देश्यले धेरै कदम चालेका छन्। यी कदमहरूको उद्देश्य तेलमा देशको अर्थतन्त्रको निर्भरता कम गर्नु र अन्य उपायहरू पनि तयार गर्नु हो। त्यसैले पर्यटकलाई आकर्षित गर्नेदेखि उद्योगलाई आकर्षित गर्ने विभिन्न उपायहरू अपनाइने गरेको छ।

वर्षौंदेखि साउदी अरबमा कार्यरत कूटनीतिज्ञहरूले विशेष सेवामार्फत मदिरा आयात गर्ने सुविधा पाएका छन्। यो आयात कूटनीतिक परिसरमा उपभोगका लागि मात्र गर्न सकिन्छ। 

कतिपयले अवैध व्यापारीकहाँ मदिरा किन्न वा घरमै मदिरा बनाउन जान्छन्। साउदीमा जो कोहीले पनि मदिरा सेवन गरेको पाइए लामो जेल सजाय, भारी जरिबाना, सार्वजनिक कोर्रा र देश निकालासमेत भोग्न सक्ने कानूनी व्यवस्था नै छ।

इस्लाममा रक्सीको सेवन निषेधित छ। साउदी अरब विश्वका थोरै देशहरूमध्ये एक हो जहाँ अझै पनि रक्सी प्रतिबन्धित छ। जसमा खाडी राष्ट्र कुवेत र यूएईको शारजाह पनि पर्छन्। सन् १९५० को दशकमा साउदी अरबमा मदिरा प्रतिबन्ध लगाइएको थियो।

साउदी अरबका तत्कालीन राजा तथा संस्थापक सम्राट अब्दुलअजीजले सन् १९५१ मा आफ्ना छोरा राजकुमार मिश्रीले रक्सी पिएर जेद्दामा बेलायती कूटनीतिज्ञ सिरिल उस्मानको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।

सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्ति र मक्का मस्जिदमा भएको आतंकवादी हमलापछि साउदी अरबको शाही परिवारले इस्लामको वहाबी रूप अपनायो, जसलाई अति कट्टरपन्थी इस्लामिक विचारधारा मानिन्छ। त्यसको असर स्वरूप देशमा धेरै कडा नियम लागू भयो। जसमा महिलाहरूलाई अलग्गै राख्ने र कार चलाउन प्रतिबन्ध लगाउने आदि समावेश थिए।