जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।
बागलुङ– बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन्। जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका २५२ जना बसाइँ सरेका हुन्।
गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्यांक पाइएको हो। आठ वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ र ६ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए।
बिहुँबाट मात्रै नौ महिनामा २६ परिवारका १०५ जनाले गाउँ छाडेका छन्। तीमध्ये वडा नं ५ बाट १३ परिवारका ४९ सदस्य र वडा नं ६ का १३ परिवारका ५६ जनाले गाउँ छाडेका हुन्। गाउँपालिकाका अनुसार वैदेशिक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाका परिवार धेरै बसाइँ सरेका छन्।
गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छाडेर अन्यत्रै बस्नेहरूको संख्या पनि उच्च छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साबिकको बिहुँ गाविस हालका वडा नं ५ र ६ सदरमुकामबाट छोटो दूरीका वडा हुन्। यहाँ सडक सुविधा छ। दुई सामुदायिक क्याम्पस, विद्यालय, खानेपानी, विद्युत्, स्वास्थ्य संस्थालगायतका संरचना तयार भए पनि गाउँ रित्तिन नछाडेको उपाध्यक्ष थापा बताउँछन्।
“हामीले कैयौँ प्रयास गर्दा पनि थेग्न सकेनौँ,” थापा भने, “यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पुर्याउने, गाउँ खाली हुने अवस्था हुन्छ।”
नौ महिनाको अवधिमा काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं १ पालामा छ। यो वडाबाट नौ महिनामा दुई परिवारका पाँच जना मात्रै गाउँ छाडेर अन्यत्रै गएको थापाले जानकारी दिए।
वडा नं २ भीमापोखराबाट पाँच परिवारका १२, वडा नं ३ धम्जाबाट ११ परिवारका ३५, वडा नं ४ तङ्ग्रामबाट ११ परिवारका ४७ र वडा नं ७ रेशबाट आठ परिवारका ३३ जना बसाइँ सरेको गाउँपालिकाको तथ्यांक छ। वडा नं ८ लेखानीबाट पाँच परिवारका १५ जना बसाइँ सरेका छन्।
बसाइँ सर्नेमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए। “सुविधाको खोजीमा जानेहरू छन्, कतिपय लहैलहैमा गाउँ छाडेर हिँडे”, उपाध्यक्ष थापाले भने। गाउँपालिकाको तथ्यांकअनुसार दैनिक ज्याला मजदुरी गरेर खानेहरू अवसरको खोजीमा शहरबजार झरेका छन् भने आर्थिक रूपले सक्षम भएकाहरू देशका ठूला शहर र तराईमा बसाइँ सरेका छन्।
“उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेस झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्याङ्क बढ्दो छ”, वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भने, “बत्तीमुनिको अँध्यारो भनेजस्तै, सुगम भएर पनि गाउँहरू रित्तिँदै छन्।” गाउँपालिकामा पछिल्लो नौ महिनामा २७ परिवार गाउँ फर्किएका छन्। बसाइँसराइ गरेर गाउँ छाडेका २७ परिवारका ९७ सदस्य गाउँ फर्केको थापाले बताए।
बसाइँसराइको तथ्यांक बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा सोहीअनुसार तर्जुमा गर्ने योजना बनाएको छ। पछिल्लो तथ्यांकलाई आधार मानेर छलफल थालिएको गाउँपालिकाका अध्यक्ष राजु थापा बताउँछन्। उनका अनुसार यहाँबाट बसाइँ सरेका कसैले पनि घरगोठ, पाखोबारी र खेत भने बिक्री गरेका छैनन्। त्यसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ।
बागलुङका १० स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएको छ। काठेखोलाको जस्तै तथ्यांक अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोला बाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ। जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।
जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ। गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइँसराइ बढ्दो रहेको बताउँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
