सरकारले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने तयारी भइरहेको बताएका छन्।

काठमाडौँ– सरकारले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’का रूपमा अभियान चलाउने भएको छ। बिहीबार काठमाडौँमा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’को औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्। 

उनले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानका रूपमा अघि बढाउने गृहकार्य गरिरहेको बताएका हुन्। उनले आन्तरिक रोजगारी बढाउन नसक्दासम्मका लागि वैदेशिक रोजगारीलाई व्यवस्थित र अनियमितता नियन्त्रण गर्दै अगाडि बढ्नुपर्ने पनि बताए।

“वैदेशिक रोजगारीमा जाने कुरालाई व्यवस्थित गर्दै, यसमा भएका विभिन्न अनियमितताको नियन्त्रण गर्दै– अहिलेको अवस्थामा जबसम्म हामीले विकल्प दिँदैनौँ तबसम्म त्यसलाई व्यवस्थित गर्ने हो। वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी नै हो। त्यसकै गृहकार्यमा लागेका छौँ,” उनले भने, “२०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा अभियान अघि बढाउन गृहकार्य गरिरहेका छौँ।”

मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको दाबी गरे। उनले अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकिएको जिकिर गरे। उनले दैनिक विदेश पलायन भएका युवाहरूसँगै स्वदेश फर्किरहेका युवाका बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको पनि बताए।

मन्त्री भण्डारीले श्रम मन्त्रालयअन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाहरूको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए।

नबिलको दक्ष प्रवासी उद्यमशील कर्जा योजना
नबिल बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवालाई प्रोत्साहन गर्न ‘दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना ल्याएको जनाएको छ।

बैंकले न्यूनतम १५ लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमासमेत तोकेको छ। बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपैयाँको कर्जासमेत प्रदान गर्नेछ।  

नबिल बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको बताए। विदेशबाट नेपालीहरूले धेरै प्रकारका सीप,पुँजी लिएर आएकाले उनीहरूलाई रोजगारी र उद्यमशीलतामा ल्याउन सके देशको आर्थिक अवस्था माथि उठ्न सक्ने उनको भनाइ छ। 

बैंकले ल्याएको योजनाले सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रुपैयाँसम्म सुविधा बैंकले दिने भएको छ। उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपाली नागरिकलाई प्रदान गर्नेछ।

सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रुपैयाँसम्म कर्जा दिनेछ। बैंकले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ। कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ।