पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको छ।
दमौली– मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र शुरू भएको छ।
शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालिएको पश्चिम खण्ड आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिए। बिहीबार ४२० मिटर एकतर्फी सडक कालोपत्र गरिएको छ। फागुनको अन्तिमसम्म एकतर्फी पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ।
शुक्रबारदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने पौडेलले बताए। “अब कामले तीव्रता पाउँछ। निरन्तर कालोपत्रको काम अगाडि बढ्छ। आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन्,” उनले भने।
पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको हो।
जामुनदेखि पोखरासम्म २०७८ जेठ २ मा सम्झौता भई २०७८ भदौ १२ देखि काम शुरू भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। म्याद २०८१ भदौसम्म छ। ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको हो।
धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र शुरू भएपछि आशावादी बनेको स्थानीय शंकर पन्तले बताए। भने, “कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुशी छन्। धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो। गुणस्तरीय काम गराउनका लागि निरन्तर अनुगमन पनि गर्छौं।”
दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ। जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ। यसैगरी पूर्वी खण्डमा भने १९.५ किमी सडक कालोपत्र भइसकेको छ। आँबुखैरेनी र बन्दीपुर खण्डमा कालोपत्र सकिएको हो। बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ।
पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ। यसअघि खाल्डाखुल्डी र धुलाम्मे सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ। पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम शुरू भएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा ‘आर्क डिजाइन’मा पुल बन्दैछ।
पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरू भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ वैशाखसम्म छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
