२९ हप्तामा जन्मेको शिशुको ‘एलएसभी’ सफल

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ।

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ (एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ। सो अस्पतालमा यस प्रकारको शल्यक्रिया पहिलो पटक गरिएको हो। 

नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसा विकास नभएको अवस्थामा एलएसभी गरिन्छ। विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था थियो। 

आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा सफलता पाएको हो। शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो। शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले भनिन्, “२९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलो पटक हो। बुधबार फलोअप उपचारका लागि अस्पतालमा ल्याइएको थियो। मैले दुवै आँखा परीक्षण गरेँ। आँखामा सुधार हुँदै गएको छ। वृद्धि विकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ। तर फलोअप उपचार भने गरिरहनुपर्छ।”

उनकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो। “दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो। जुन सफल पनि भयो,” डा. बजगाईंले भनिन्।

सो शल्यक्रियामा उनीसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी थिइन्। शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो। “यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ। तर मैले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम प्रयत्न गरेँ जुन सफल भयो,” डा. बजगाईंले भनिन्, “यो मेरो जीवनका लागि पनि खुशीको क्षण हो।” 

शिशुको जन्म हुँदा उनको तौल एक हजार २०० ग्राम मात्र रहेको बताइएको छ। जन्मिएपछि २८ दिनसम्म शिशुको एनआईसियूमा उपचार भएको थियो। ३४ दिनपछि आईसियूमा रहेकै अवस्थामा आँखा उपचार गर्न अस्पताल ल्याइएको थियो। आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ। पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धि विकाससँगै नसाको पनि वृद्धि विकास हुँदै जाने गर्छ। तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ।

“कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मिँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ,” उनले भनिन्, “यस्तो अवस्थामा आरओपीका कारण अन्धोपन हुने जोखिम हुन्छ।”

आँखा अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले ती शिशुको शल्यक्रियालगायत अन्य उपचारका लागि ‘एक एक पाइला फाउन्डेसन’बाट शोधभर्ना हुनेगरी  अभिभावकसँग शुल्क कुनै नलिएको जानकारी दिए। “स्वास्थ्य मन्त्रालयको नीतिअनुसार हामी आँखा उपचार सेवालाई अब्बल बनाउने अभियानमा लागिरहेका छौँ,” उनले भने, “आगामी दिनमा अस्पतालको सेवालाई अझ विस्तार गर्दै योजना छ।” 

अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले गत वर्ष सेवा पुर्‍याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका ३०० शिशु रहेका थिए। तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इन्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो।

आरओपी भनेको के हो त? डा. बजगाईंका अनुसार जन्मिँदा कम तौल भएका अथवा समय नभई चाँडै जन्मेका शिशुको आँखाका असर गर्ने रोग हो। यो रोग लागेपछि आँखाको पर्दाको रक्तनली सामान्य रूपमा बढ्न र विकसित हुन पाउँदैन। रोगले आँखाको सामान्य समस्यादेखि पर्दा फाट्नेजस्ता गम्भीर र अन्ततः दृष्टिविहीनतासम्म निम्त्याउन सक्छ। यस्ता आँखा रोगका सिकार कम तौल (दुई किलोभन्दा कम) जन्मेका नवजात शिशु, गर्भावस्था अवधि ३४ हप्ताभन्दा कम जन्मेका शिशु, जुम्ल्याहा जन्मेका तथा कृत्रिम गर्भाधानका माध्यमबाट जन्मेका शिशु तथा शारीरिक कमजोरी भएका शिशु जोखिममा हुने गर्छन्। 

आरओपीको लक्षण सामान्य आँखाले देख्न सकिँदैन। विशेष उपकरणको सहायताले मात्र देख्न सकिन्छ। सामान्यतया आरओपीका लक्षण जन्मेको तीन हप्ता अथवा चार हप्तापछि देखा पर्छ। त्यसैले समयमा आरओपी स्क्रिरिङ गर्न आवश्यक छ।