यू१९ विश्वकप: अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

नेपाल र अफगानिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यस खेलमा जसले जिते पनि सुपर सिक्समा स्थान बनाउने छन्।

काठमाडौँ– नेपालले आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानविरुद्ध फिल्डिङ गर्ने भएको छ। 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा भएको टसमा अफगानिस्तानका कप्तान नसीर खानले टस जित्दै पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

नेपाल र अफगानिस्तानले विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। प्रतियोगिताको शुरूआती दुवै खेलमा पराजित भएका टोली जितको खोजीमा छन्। यस खेलमा जसले जिते पनि सुपर सिक्समा स्थान बनाउने छन्। नेपाली टोलीका कप्तान देव खनालले समूह चरणको अन्तिम खेललाई दबाबको रूपमा नलिएको बताएका छन्।

“हामीले यस खेललाई दबाबको रूपमा लिएका छैनौँ। सुपर सिक्समा पुग्ने मौकाको रूपमा लिएका छौँ। त्यसैले राम्रो खेल्छौँ,” उनले भने। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आजको खेलमा दुई परिवर्तन गरेका छन्।

विकेटकिपर उत्तम रंगु थापामगर र तीव्र गतिका बलर दुर्गेश गुप्तालाई उनले बाहिर राखेका छन्। उनीहरूको स्थानमा मध्यक्रमका ब्याटर दीपक बोहरा र लेग स्पिनर तिलक भण्डारी प्लेइङ ११ मा अटाएका छन्।