एपीएफलाई पराजित गर्दै पुलिस आहा रारा गोल्डकपको क्वार्टरफाइनमा

एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा जारी ‘आहा–रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल पुलिस र एपीएफबीचको प्रतिस्पर्धा। तस्वीर : राधिका कँडेल/रासस

काठमाडौँ– नेपाल सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई पराजित गर्दै नेपाल पुलिस फुटबल क्लब २३औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा पुगेको हो।

पुलिसका लागि दुवै गोल डिफेन्डर मानबहादुर परियारले गरे। खेलको १९औँ मिनेटमा मानबहादुरले पुलिसलाई अग्रता दिलाएका थिए।

७१औँ मिनेटमा मानबहादुरले नै अग्रता दोब्बर बनाए। त्यसपछि कुनै गोल हुन नसक्दा पुलिस २–० गोल अन्तरको जित हासिल गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो।

पुलिसले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो क्वार्टरफाइनल थ्री स्टार र भुटानी लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुने छ।