सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिए

माओवादी केन्द्र संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको शुक्रबार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए।

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभा नेकपा माओवादी केन्द्रका प्रदेशसभाका बहुमत सदस्यले शुक्रबार दलको नेता परिवर्तन गरेका छन्।

नेकपा माओवादी केन्द्र संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको शुक्रबार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए। दलको नेतामा मानबहादुर धामीलाई चयन गरिएको छ। धामी दार्चुलाको प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

दलका नेता खगराज भट्टप्रति बढेको असन्तुष्टिकै कारण दलको नेता परिवर्तन गरिएको उपनेता रावलले बताए। दलको नेता परिवर्तनको जानकारी प्रदेशसभा सचिवालयलाई दिइएको छ। पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्ने मन्त्रीको कामप्रति पनि असन्तुष्टि रहेको बताइएको छ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र दुई मन्त्री र एक राज्यमन्त्रीसहित गठबन्धन सरकारमा सम्मिलित छ। ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका ११ सदस्य छन्।