मोरङमा भेटिएको हिउँचितुवालाई उपचारपछि वासस्थानमै छोडिने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हिउँचितुवा मोरङको उर्लाबारीसम्म कसरी आइपुग्यो भन्ने विषयमा सीआईबी लगायतका निकायको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ।

काठमाडौँ– गत माघ ९ गते मोरङको उर्लाबारीमा भेटिएको हिउँचितुवालाई उपचारपछि उपर्युक्त वासस्थानमा छोडिने तयारी गरिएको छ।

उक्त हिउँचितुवालाई मोरङबाट उद्धार गरी ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको भेटेरिनरी अस्पतालमा ल्याएर उपचार जारी राखिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक सिन्धु ढुंगानाले उक्त चितुवालाई उद्धार गरी चिडियाखानामा ल्याएर उपचार जारी राखिएको बताए।

“एउटा खुट्टामा समस्या भएर राम्रोसँग टेक्न सक्दैन। त्यसको उपचार जारी छ। सब ठीकठाक भएपछि उपयुक्त वासस्थानमा राखिने छ,” उनले भने।

सामान्यतया ३ हजार मिटरदेखि ६ हजार मिटरसम्मको उचाइमा मात्र पाइने हिउँचितुवा गत माघ ९ गते मोरङको उर्लाबारीमा समुन्द्र सतहदेखि १४६ मिटरको उचाइमा भेटिएको थियो।

उच्च हिमाली क्षेत्रमा मात्र पाइने उक्त चितुवा समथर तराईमा कसरी आयो त्यस विषयमा फरक–फरक अड्कलबाजी गरिएको छ। हिउँ चितुवाका बारेमा विद्यावारिधि गरेका विज्ञहरूका पनि फरक–फरक धारणा रहेका छन्।

कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाका प्रमुख एवं हिउँचितुवाका बारेमा विद्यावारिधि गरेका मधु क्षेत्रीले आमासँग छुट्टिएपछि बाटो बिराएर उक्त हिउँचितुवा तराईसम्म आएको हुनसक्ने बताउँछन्।

“यो छुट्टै हिँडेको भाले होइन, आमासँग हिँड्ने क्रममा बाटो बिराएर बस्तीमा अलमलिएर तलतिर आएको हुनसक्छ,” उनले भने, “उसले आफ्नो टेरोटेरी स्टाबलिस गरेको होइन, त्यसो गरेको भए माथितिर जान्थ्यो। हामी पनि अलमलमा परेका छौँ। यही नै कारण हो भन्न सक्ने अवस्था छैन।”

हिउँचितुवाको बारेमा जानकारी दिन राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा अर्का विज्ञ करण शाहले १४६ मिटरको उचाइमा हिउँ चितुवा भेटिनु असामान्य विषय भएको बताए। हिउँचितुवा भेटिएको मोरङको भू–बनोट र त्यसभन्दा उत्तरतर्फको भू–बनोटमा धेरै फरक भएकाले उच्च स्थानमा मात्र पाइने हिउँचितुवा त्यति धेरै दूरी तय गरेर मोरङसम्म आउन नसक्ने उनको दाबी छ।

“ताप्लेजुङको सदरमुकाम आइपुग्न पनि पाँच दिन लाग्छ। त्यसदेखि दक्षिणतर्फ नदी, खोला र जंगल छ, त्यो पार गरेर उक्त चितुवा आउन सक्ने सम्भावना नै हुन्न,” उनी भन्छन्, “कसैले उक्त चितुवालाई बच्चा ल्याएर पालेको र त्यो फुस्किएर आएको हुन सक्छ। ३ हजार मिटरभन्दा माथिको उचाइबाट १४६ मिटरको उचाइमा आउन धेरै अवरोधहरू छन्। त्यसको कलर र पुच्छर पनि विकास भएको छैन।” उक्त हिउँचितुवा प्रकृतिमा हुर्केको जस्तो नदेखिने शाहको भनाइ छ।

विभागले उक्त हिउँचितुवा त्यहाँसम्म कसरी आइपुग्यो भन्ने विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लगायतको सहयोगमा अनुसन्धान जारी राखेको छ। “हाम्रो अनुसन्धान जारी छ। निकुञ्ज प्रशासन, सीआईबी सबैले आ–आफ्नो ठाउँबाट अनुसन्धान गरेका छौँ,” विभागका महानिर्देशक ढुंगानाले भने, “तथ्यहरू पत्ता लागेपछि सार्वजनिक गर्ने छौँ।”

विभागका अनुसार शुरूको तीन दिनसम्म केही पनि नखाएको उक्त हिउँ चितुवाले बिहीबार मात्र कुखुराको मासु खाएको थियो।