यू१९ विश्वकप : अफगानिस्तानलाई पराजित गर्दै ‘सुपर सिक्स’मा नेपाल

नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’मा पुगेको छ।

काठमाडौँ– नेपाल आईसीसी यू१९ विश्वकप क्रिकेटको ‘सुपर सिक्स’मा पुगेको छ। शुक्रबार भएको खेलमा नेपाल अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा पुगेको हो।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि कप्तान देव खानले सर्वाधिक ५८ रन जोडे। उनले ८९ बलको सामना गर्दै ७ चौका प्रहार गरे।

दीपक बोहराले ४२ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाए भने आकाश त्रिपाठीले १६ रनको योगदान दिए। त्यस्तै, अर्जुन खनालले १० रन जोड्दा नेपालले अतिरिक्त १६ रन पायो।

अफगानिस्तानका फरिदुन दवुदजैले ३, खलिल अहमद र नासिर खानले समान २ विकेट लिए।

दक्षिण अफ्रिकामा भएको खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। निर्धारित ५० ओभरको खेलमा अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनाउन सक्यो।

अफगानिस्तानका लागि अल्लाह मोहम्मद घनजानफरले सर्वाधिक ३७ रन जोडे। उनले २१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे। ८३ बलको सामना गरेका नासिर खानले ३ चौकाको मद्दतमा ३१ रन बनाए। फरिदुन दवुदजैले २९ र हसन इसाखिलले २० रनको योगदान दिए। 

बलिङमा नेपालका आकाश चन्दले ५ विकेट लिए। दिपेश कँडेलले २ तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १/१ विकेट लिए।