विमानस्थल घटनाबारे छानबिन गर्न समिति गठन

त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटना छानबिन गर्न मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीचको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

शुक्रबार त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले हातपात गरेको बताइएको थियो। उक्त घटनाका सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जनाएका छन्।

समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश छ।