केराको थामबाट रेसा, कपडा र कार्पेट बनाउन प्रयोग गरिने

खेर गइरहेको केराको थामबाट रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ।

टीकापुर– कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारीले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो। 

सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ। उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौँ पठाइने भएको छ।

सहकारीले काठमाडौँको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको चौधरीले बताए। 

केराको थामबाट रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित दुई कर्मचारी राखेर काम थालेको छ। केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिममा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ। 

“केराको थाम पाउन समस्या छैन,” उनले भने, “यसलाई बढाएर अझै धेरैलाई आयआर्जनसँग जोड्ने र रोजगार प्रदान गर्ने लक्ष्य छ।” सहकारीले रेसा उत्पादन गर्ने  उपकरणसँगै रेसा पकाउने मेसिन र धागो बनाउने चर्खासमेत जडान गर्ने भएको छ। 

केराको धागो र रेसा बनाउन सहकारीको दुई लाख र दुई लाख दिगो विकास समाज भजनीले लगानी गर्न लागेको व्यवस्थापक चौधरीले बताए। खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। 

सहकारी आफैले तालिम सञ्चालन गरी शेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपीलगायत सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ। २०६८ सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ।