काठमाडौँमा यस वर्षकै न्यून तापक्रम

काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 

काठमाडौँ– हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ।

काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। 

बिहान ८ः४५ बजे न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ। पाँच बजे न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको थियो। दुई दिनअघि न्यूनतम तापक्रम तीन डिग्री थियो।

जुम्लामा माइनस ५.३ र मुस्ताङको जोमसोममा माइनस ५.५ डिग्री रेकर्ड भएको वरिष्ठ मौसमविद् अर्यालले बताए। गण्डकी, कोसी र बागमतीका पहाडी भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। 

अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा बढी बदली रहेको र तराईको सबै क्षेत्रमा हुस्सु लागिरहेको छ। तराईमा राम्रोसँग घाम नलाग्ने तर लागे पनि कम न्यानो हुने अर्यालले बताए।