प्रयोगमा आएन कालीकोटमा निर्मित नमूना बस्ती

विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो।

फाइल तस्वीर

कालीकोट– कालीकोटको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमूना बस्ती सञ्चालनमा आउन सकेका छैनन्। बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमूना बस्ती निर्माण पूरा भए पनि प्रयोगमा आउन नसकेको हो। 

विसं २०७८ को बाढीपहिरोका कारण जोखिममा परेका रास्कोटका ७३ घरपरिवारका लागि कर्णाली प्रदेश सरकारले नमूना बस्ती निर्माण गरेको थियो। 

नीलो जस्तापाताले सिँगारिएका एकनासका घरहरू आकर्षक देखिने पोखरीकोट बस्ती जिल्लाको पहिलो एकीकृत नमूना बस्ती रहेको स्थानीय नवराज शाहीले बताए। 

“विसं २०७७/७८ मा बाढीपहिराबाट पीडितका लागि प्रदेश सरकारले पहिलोपटक एकीकृत नमूना बस्तीको अवधारणा ल्याएको थियो,” उनले भने, “अहिले बाढीपहिरो पीडित पुरानै जोखिमका घरमा बसिरहेका छन् । एकीकृत बस्तीका अधिकांश घरमा ताला लगाइएको छन् ।”

पहिराले पूर्ण रूपमा क्षति पुर्‍याएका ७३ परिवारका लागि आवास बनाइएकामा अहिले उक्त बस्तीमा १६ परिवार मात्र बस्ने गरेको नगरपालिकाले जनाएको छ। 

रास्कोट–१, ३ र ७ का बाढीपहिरो पीडितलाई आवास निर्माणका लागि प्रदेश सरकारले पाँच करोड रुपैयाँ बजेट छुटाएर सोही रकमबाट बस्ती निर्माण भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले बताए। 

“एकीकृत बस्तीको काम सकिएलगत्तै बस्ती बसाल्ने सोच थियो तर त्यो सफल हुन सकेन,” उनले भने, “खानेपानीलगायत केही भौतिक संरचना निर्माण गर्न बाँकी रहेकाले पीडित बस्न मान्नुभएको छैन।”