काठमाडौँ महानगरले धरहरा क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गर्ने

न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने भएको छ।

काठमाडौँ– गत मंगलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ। काठमाडौँ महानगरले उक्त सेवा आइतबारदेखि सर्वसाधारणका लागि निःशुल्क रूपमा उपलब्ध गराउन लागेको जनाएको छ।

धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो। काठमाडौँ महानगरले न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलब्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, “यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ। सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ।” 

उनका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ। शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ। गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो।