थ्रिस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

थ्रिस्टार विदेशी पाहुना टोली भुटानको पारोलाई पराजित गर्दै आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

तस्वीर: रासस

कास्की– थ्रिस्टार आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालामा भएको क्वाटर्फाइनलको पहिलो खेलमा थ्रिस्टारले विदेशी पाहुना टोली भुटानको पारो फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।  थ्रिस्टारका लागि दुवै गोल आशीष चापागाईंले गरे। 

पहिलो र दोस्रो हाफको समयमा दुवै टोलीले गोलरहित बराबरी खेले। त्यसपछि ३० मिनेटको समय थप गरिएको थियो। अतिरिक्त समयको पहिलो १५ मिनेटमा पनि गोल हुन सकेन। तर खेल सकिन ६ मिनेटको समय बाँकी रहँदा थ्रिस्टार गोलको खाता खोल्यो। 

थ्रिस्टारले केही समयमै पुनः अर्को गोल थपेसँगै पाहुना टोली पारो २-० गोल अन्तरले पराजित हुँदै घर फर्किन बाध्य बन्यो। खेलको ११४औँ र खेल सकिन एक मिनेट समय बाँकी छँदा चापागाईंले गोल गरेका थिए। नियमित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए। 

थ्रिस्टार क्लबले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी क्वाटर्फाइनलमा प्रवेश गरेको थियो भने पारो सिधै क्वाटर्फाइनल खेलेको हो। प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनलको खेल संकटा क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकाबीच हुने छ।