सत्तारुढ दलहरूमा उलटफेर ल्याउने एमालेको प्रयास असफल बनाएको माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्।

काठमाडौँ– सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्। सत्तारुढ दलभित्रै सहकार्य गरेर आफ्नो पार्टीलाई कमजोर बनाउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएपछि राष्ट्रियसभा निर्वाचनमा पनि एमाले असफल उनले बताएका हुन्। 

आइतबारबाट काठमाडौँमा शुरू भएको पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्तारुढ दलहरू एकजुट भएर अघि बढ्दा पनि कोशी प्रदेशमा सत्तारुढ दलकै भोट ‘क्रस’ भएको बताए। उनले कोशीमा भोट क्रसका कारण एमालेले एक सिटमा जित हासिल गरेको विषय अहिले सत्तारुढ दलभित्र र बाहिर पनि छलफलको विषय बनेको बताए। 

“सत्तारुढ दलहरू एकजुट भएर उभिइसकेपछि नेकपा एमालेको हामीलाई कमजोर बनाउने प्रयत्न असफल भयो। यस्तो अवस्थामा नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो। यस स्थितिमा कोशी प्रदेशमा एक सिट जितेर यो निर्वाचनमा एमाले शून्य हुनबाट जोगिएको छ। राष्ट्रियसभाको निर्वाचनको परिणामले सत्ता गठबन्धनमा उलटफेर हुने अवस्था नरहे पनि भोट क्रसिङको विषयले गठबन्धनका दलहरू मात्रै होइन हरेक दलभित्र यो छलफलको विषय बन्न पुगेको छ,” उनले भने। 

अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा पनि एमालेले आफ्नो पार्टीलाई कमजोर बनाउने प्रयास गरेको आरोपसमेत लगाए। उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दिशामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबीसमेत गरे।

उनले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने धारणा राखे। उनले मुलुकमा विद्यमान व्यवस्थाविरुद्ध प्रतिगामी तत्त्वहरूले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए। उनले गठबन्धन दलहरूले तयार पारेका न्यूनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए। 

अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए। उनले जलवायु परिवर्तनले पारेका असरहरूलाई न्यूनीकरण गर्नका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याए।