क्षेत्रीय तनाव बढेसँगै इरानद्वारा ३ वटा स्याटेलाइट प्रक्षेपण

अमेरिकी खुफिया समुदायको विश्वव्यापी खतरा मूल्यांकन २०२३ का अनुसार उपग्रह प्रक्षेपण वाहनहरूको विकासले इरानलाई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू विकास गर्न मद्दत पुगेको छ। 

इरानले आइतबार तीन वटा स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। यसअघि धेरै असफल भइसकेको सिमोर्ग रकेटको पनि सफल प्रक्षेपण भएको समाचार संस्था एपीले जनाएको छ।

संयुक्त राज्य अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लंघन गरेको भन्दै तेहरानलाई आणविक हतियार पुर्‍याउन सक्ने ब्यालिस्टिक मिसाइलहरू समावेश गर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको थियो। इरानको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित राष्ट्रसंघीय प्रतिबन्धको म्याद गत अक्टोबरमा सकिएको थियो।

अमेरिकी खुफिया समुदायको विश्वव्यापी खतरा मूल्यांकन २०२३ का अनुसार उपग्रह प्रक्षेपण वाहनहरूको विकासले इरानलाई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू विकास गर्न मद्दत पुगेको छ। अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू आणविक हतियारहरू प्रदान गर्न प्रयोग गर्न सकिन्छ। विश्व शक्तिहरूसँगको आणविक सम्झौता भत्किएपछि इरानले अहिले हतियारको स्तरमा युरेनियम उत्पादन गरिरहेको छ।

अन्तरिक्ष यात्रामा इरान पनि शक्तिशाली राष्ट्रमा पर्छ। विगत एक दशकमा, इरानले धेरै छोटो अवधिका उपग्रहहरू कक्षमा पठाएको छ। २०१३ मा एउटा बाँदरलाई अन्तरिक्षमा पठाएको थियो। गत डिसेम्बरमा मात्रै इरानले जनावरहरूलाई कक्षमा लैजान सक्ने क्याप्सुल पठाएको थियो। इरानले आगामी वर्षहरूमा मानव मिसनहरूको लागि तयारी गरिरहेको छ।