जोर्डनस्थित अमेरिकी बेस क्याम्पमा ड्रोन आक्रमण: ३ सैनिकको मृत्यु, दर्जनाैँ घाइते

इजरायल–हमास युद्ध शुरू भएयता मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो।

अक्टोबरमा लिइएको अमेरिकी सैन्य शिविर टावर-२२ को तस्वीर/प्लानेट ल्याब

गाजामा जारी युद्धको बीच जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमण भएको छ। आइतबार बिहान भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु र २५ जना घाइते भएका बीबीसीले जनाएको छ। 

सिरियासँग जोडिएको जोर्डनको सीमा क्षेत्रमा रहेको टावर–२२ मा उक्त आक्रमण भएको हो। एयरबेसमा पनि ठूलो क्षति पुगेको बताइएको छ। इजरायल–हमास युद्ध शुरू भएयता मध्यपूर्वमा अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो।

इजरायल र हमासबीचको युद्धले अमेरिकाका लागि ठूलो समस्या खडा गरेको छ। सिरियादेखि इराक र अहिले जोर्डनमा पनि अमेरिकी सैन्य शिविरहरूमा आक्रमणहरू भएका छन्। अहिलेसम्म यस आक्रमणको जिम्मा कसैले लिएको छैन। अमेरिकी अधिकारीहरूले आक्रमणको पछाडि कुन समूहको हात छ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छन्। यद्यपि यो आक्रमण सिरियाबाट गरिएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यस आक्रमणलाई लिएर आक्रोशित बनेका छन्। उनले यो आक्रमणमा संलग्न जोसुकैलाई पनि नछोड्ने बताएका छन्। राष्ट्रपति बाइडेनले यो हमला सिरिया र इराकबाट सञ्चालित इरान समर्थित चरमपन्थी समूहले गरेको दाबी गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार इराक/सिरियामा रहेका अमेरिकी र सहयोगी राष्ट्रहरूको सैन्य आधार शिविरमा अहिलेसम्म १५८ वटा हमला गरिएको छ। यी आक्रमणमा मिसाइल, रकेट र ड्रोनको प्रयोग गरिएको छ।