३२५ अर्ब डलर ऋणमा ‘एभरग्रान्ड’: सम्पत्ति बेचेरै भए पनि चुक्ता गर्न अदालतको आदेश

चीनको एक चौथाइ अर्थतन्त्र घरजग्गा उद्योगबाट चल्छ। अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ।

ऋणमा डुबेको विशाल चिनियाँ घरजग्गा कारोबार कम्पनी एभरग्रान्डलाई हङकङको अदालतले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न आदेश दिएको छ।

कम्पनीले आफ्नो ऋण चुक्ता गर्ने कुनै योजना पेस गर्न नसकेपछि अदालतले यस्तो आदेश दिएको बीबीसीले जनाएको छ। आदेश दिँदै न्यायाधीश लिन्डा चानले भनिन्, “अति भयो, अब कम्पनीले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्नु पर्नेछ।” 

एभरग्रान्ड चीनको घर जग्गा बजारमा चलिरहेको संकटको नमूना बनेको छ। कम्पनीसँग ३२५ अर्ब डलरको ऋण छ। यो कम्पनी दुई वर्षअघि नै ऋणमा डुबेको थियो।

चीनको एक चौथाइ अर्थतन्त्र घरजग्गा उद्योगबाट चल्छ। अदालतको यो निर्णयपछि चीनको वित्तीय बजारमा उथलपुथल हुने सम्भावना छ। यो यस्तो समयमा भइरहेको छ जब चीनले शेयर बजारमा बेचबिखन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

केही समय पहिले चीनको सर्वोच्च अदालत र हङकङको न्याय विभागले मुख्य भूमि चीन र हङकङबीचको नागरिक र व्यापारिक निर्णयहरूलाई आपसी मान्यता र कार्यान्वयन गर्ने व्यवस्थामा हस्ताक्षर गरेका थिए। अदालतको यो आदेशसँगै उक्त व्यवस्था आजदेखि लागू भएको छ।

अदालतको यो निर्णयपछि हङकङको शेयर बजारमा एभरग्रान्डको शेयर मूल्य २० प्रतिशतले घटेको छ। अहिले यो कम्पनीलाई शेयर कारोबारमा पनि रोक लगाइएको छ।