अपराध गरेर सजाय भुक्तान गर्न जानेहरूले केन्द्रीय कारागारलगायत ठूला बन्दीगृहलाई कसरी अवैध आर्जनको थलो बनाएका छन्? नेताको संरक्षण र कारागार प्रशासनको मिलेमतोमा भइरहेको अपराधको कथा:
काठमाडौँ— लागुऔषधको मुद्दामा सूर्यविनायक नगरपालिका–८ भक्तपुरका विनय (नाम परिवर्तन)ले सुन्धारास्थित केन्द्रीय कारागारअन्तर्गतको भद्र बन्दीगृहमा चार वर्ष बिताए। त्यस अवधिमा कारागारभित्र उनको ३० लाखभन्दा बढी खर्च भयो।
खर्च कसरी त? विनयले सुनाए, “सम्झिँदा छाती पोलेर नसम्झूँ भन्ने लाग्छ। तर आफूले भोगेको पीडा बिर्सिन सकिँदो रहेनछ। त्यत्रो पैसा कानूनी प्रक्रियामा सकिएको होइन, मुद्दा मिलाइदिन्छु भनेपछि नाइके र चौकीदारलाई दिइयो।”
विनय भक्तपुरका रैथाने हुन्। घरको आर्थिक अवस्था बलियो थियो। नाइके र चौकदारहरूको यातना र हेपाइ खेप्नुभन्दा घरबाट आएको पैसाले उनीहरूको ‘मुख थुन्दै’ बन्दी जीवन कटाएका उनी जेलभित्र तिनले कसरी ज्यादती गरिरहेका छन् भन्ने साक्षात्कार राम्ररी गरेको बताउँछन्।
“कारागार चौकीदार र नाइकेहरूको कब्जामा हुन्छ। त्यहाँ के गर्ने, के नगर्ने, उनीहरूकै हातमा हुन्छ। मुद्दा मिलाइदिन्छु भनेपछि चौकीदारलाई एकै पटकमा मैले दुई लाखसम्म बुझाएको थिएँ,” उनले सुनाए, “उनीहरूलाई बाहिर आउने अधिकार हुन्छ। अनि आफन्तमार्फत पैसा लिन्छन्।”
चार वर्ष कैद सजाय तोकिएकोमा पहिले बसेको एक वर्ष घटाएर तीन वर्षमा छुट्न चाहेका उनले त्यो कामका लागि भद्र बन्दीगृहका बहिदारलाई पैसा दिएको बताए। तर सजाय नघटेपछि उनले चारवर्षे बन्दी जीवन पूरै बिताउनुपर्यो।
“दिदीमार्फत दुई लाख बुझाएको हुँ। मुद्दा मिलाइदिन्छु भन्ने मान्छे बहिदारबाट चौकीदार भयो,” २०७९ कात्तिकमा भद्र गृहबाट छुटेका विनय भन्छन्, “हामी जस्तोलाई त नाइके र चौकीदारहरू यसरी लुट्छन् भने सामान्य कैदी–बन्दीमाथि कस्तो गरिरहेका होलान्?”
उनका अनुसार सामान्य कैदी–बन्दीले कारागारभित्र खुलेर बोल्न पनि पाउँदैनन्। “बोलेको सुन्यो कि नाइके र चौकीदारहरू मुख थुनेर कुट्छन्,” उनले भने।
नाइके र चौकीदारले कैदी–बन्दीमाथि ज्यादती गर्दै कारागारलाई कमाउने थलो बनाएको सूचना पाएपछि हामी चार वर्षदेखि १५ वर्षसम्म केन्द्रीय कारागारमा कैदी वा बन्दी जीवन बिताएका ३० जनाभन्दा धेरैको सम्पर्कमा पुग्यौँ। उनीहरूको निचोड विनय जस्तै छ– नाइके, चौकीदारहरूले असुली धन्दा चलाइरहेका छन्।
जेलभित्रै बसेरसमेत बाहिरका मानिस अपहरण गर्ने र यातना दिने कारागारका चौकीदार र नाइकेहरूको सामर्थ्य देखेका पूर्वबन्दीहरू उनीहरूबाट जैलेसुकै असुरक्षित महसुस भइरहने बताउँछन्। त्यसकारण आफ्नो भोगाइबारे बताउँदा उनीहरूमध्येका अधिकांशले आफ्नो परिचय नखोलिदिन आग्रह गरे।
कैदीको खर्च चौकीदारको खल्तीमा
यसबारे थप बुझ्न हामी पुस २६ गते ११ सयभन्दा बढी कैदी–बन्दीहरू रहेको केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल/भद्र बन्दीगृह पुग्यौँ। तीमध्ये ३०० जनाले आफैँ खाना पकाएर खाने गरेको बन्दीगृहका चौकीदार बुद्धिकुमार गुरुङले बताए। सरकारले दिने सिधाबापत उनीहरूले दैनिक ७०० ग्राम चामलका साथै दाल–तरकारी र खाजाका लागि ८० रुपैयाँ नगद पाउँछन्।
त्यस दिन भद्र बन्दीगृहमा एक किलो रातो आलुको मूल्य ९० रुपैयाँ थियो। तर बजारमा भने ३५ रुपैयाँभन्दा बढी पर्दैनथ्यो। त्यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजारले ६० रुपैयाँ तोकेको प्याजको मूल्य बन्दीगृहमा १०५ थियो। गोलभेँडा, गाजर, बन्दा, काउली, मूला, भन्टा आदि तरकारीका मूल्य पनि बाहिरभन्दा दुईदेखि तीन गुणासम्म बढी थियो।
यस्तो महँगीको मार कारागारभित्रै किनेर खाने बन्दीहरूले भोगिरहेका छन् जसको मुनाफा उनीहरूसँगै थुनिएर चौकीदार, नाइके र सहनाइके बनेका आन्तरिक प्रशासनका अगुवाहरूको खल्तीमा जान्छ।
यो पनि : अस्पताललाई ‘थुनुवा कक्ष’ बनाउने छुट पाएका पहुँचवालाहरू, जोसामु निरीह छन् राज्य–संयन्त्र
सरकारले उपलब्ध गराउने ७०० ग्राम चामल (रासन)बाहेक केन्द्रीय कारागारका कैदी–बन्दीहरूले सिधाखर्चबापत पाइने ८० रुपैयाँमध्ये २० रुपैयाँ मात्र पाउँछन्। ११ सय जनाले पाउने यो रकम दिनको २२ हजार हुन्छ। बन्दीगृहको आन्तरिक प्रशासनका अनुसार मेसको तरकारी र अन्य सामानमा दैनिक २५ हजार खर्च हुन्छ। कैदी–बन्दीले खानामा मासु, अन्डाजस्ता छुट्टै केही खाएमा अलग्गै पैसा तिर्नुपर्छ।
कैदी–बन्दीको सिधा र भान्साखर्च गरी जम्मा ४७ हजारले पुग्छ। तर ११ सय कैदी–बन्दीका लागि चामल बाहेकको सिधा खर्चमा मात्रै जनही ८० रुपैयाँका दरले ८८ हजार आउँछ। बाँकी ४१ हजार मेसको जिम्मा पाएका नाइके र चौकीदारहरूले बाँडिचुँडी लिने भद्र बन्दीगृहमा १० वर्ष बसेका सुमन (नाम परिवर्तन) बताउँछन्। उनले भनेझैँ दिनको ४१ हजारका दरले महिनामा १२ लाख ३० हजार र वर्षमा १ करोड ४७ लाख ६० हजार रुपैयाँ हुन्छ।
केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलका सूचना अधिकारी मित्रलाल लुईंटेलका अनुसार कैदी–बन्दीलाई मासिक खर्च बुझेको भरपाई गराउने काम चौकीदार नेतृत्वको आन्तरिक प्रशासनका बहिदारको हुन्छ। उनी भन्छन्, “हामीले कैदी–बन्दीबाट भरपाई गराएर बहिदारमार्फत रकम दिन्छौँ। आएजति रकम कैदी–बन्दीको हातमा पुगे/नपुगेको हामीलाई थाहा हुँदैन।”
यो हिसाब भद्र बन्दीगृहको मात्रै हो। सुन्धारास्थित केन्द्रीय कारागारअन्तर्गत तीन वटा बन्दीगृह छन्– केन्द्र, भद्र र महिला। यहाँ तीन हजार ६०० भन्दा बढी कैदी–बन्दी छन्। यी बन्दीगृहका चौकीदार र नाइकेहरूको ‘शासन’ भद्रको भन्दा भिन्न छैन। सात वर्ष महिला बन्दीगृहमा बिताएकी विनीता (नाम परिवर्तित) भन्छिन्, “कहिलेकाहीँ हामी दालमनी (सिधाखर्च) नै पाउँदैनौँ।”
यी बन्दीगृहमा एउटै व्यक्ति कहिले नाइके बन्छन्, कहिले चौकीदार। पाँचदेखि दश वर्षसम्म तिनै नाइके र चौकीदारले कारागार चलाइरहेका छन्। पाँच वर्षको मात्रै खर्चको हिसाब गर्ने हो भने पनि राज्य कोषबाट कैदी–बन्दीका लागि आउने सिधा खर्चको मात्रै २५ करोड रुपैयाँ उनीहरूको हातमा पुगेको छ।
बन्दी जीवन बिताएर फर्किएकाहरूले बताएअनुसार केन्द्रीय कारागारअन्तर्गतका भद्र, केन्द्र र महिला बन्दीगृहका साथै सुनसरीको झुम्का, पर्साको वीरगन्ज, मकवानपुरको भीमफेदी, काठमाडौँको डिल्लीबजार, ललितपुरको नख्खु, कास्कीको पोखरा, कैलालीको धनगढी, बाँकेको नेपालगन्ज र सिरहा कारागार पनि चौकीदार र नाइकेहरूको ‘कमाइ’का लागि आकर्षक ‘अखडा’ मानिन्छन्।
असुलीको अर्को स्रोत टेलिफोन
केन्द्रीय कारागारअन्तर्गतको भद्र बन्दीगृहमा ३४ वटा टेलिफोनहरू सञ्चालनमा छन्। ती सबैमा सिमकार्ड प्रयोग भइरहेको छ। कारागार प्रशासनले दिएको सूचनाअनुसार सबै फोनहरू कैदी–बन्दीहरूका लागि दिनमा १० घण्टा चल्छन्।
ती फोनहरू चौकीदार–नाइके हरूले कैदी–बन्दीबाट रकम असुली गर्ने अर्को स्रोत बनेका छन्। त्यसरी प्रयोग भइरहेकामध्ये विभिन्न पाँच वटा नम्बरमा मासिक रिचार्ज कति हुन्छ भनेर हामीले नेपाल टेलिकममा बुझ्यौँ। सबै सिमहरूमा दिनको ‘अनलिमिटेड’ प्याक लिइएको पाइयो, जसमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्मको १२ घण्टा लगातार कुरा गरे पनि १५ रुपैयाँ मात्र लाग्छ।
त्यस हिसाबले भद्र बन्दीगृहमा सञ्चालन भइरहेका ३४ वटा फोनमा एक दिनको रिचार्ज खर्च ५१० रुपैयाँले पुग्छ। तर कैदी–बन्दीले आफ्ना परिवारजनलाई फोन गरेबापत प्रतिमिनेट २ रुपैयाँ तिर्छन्। भद्र, केन्द्र र महिला बन्दीगृहमा यही दर कायम छ। एक वर्ष अघिसम्म त अझ प्रतिमिनेट ४ रुपैयाँ लिने गरिन्थ्यो।
बन्दीगृहका निर्धारित समयमा फोनहरू कहिल्यै खाली हुँदैनन्। ३४ वटा फोन एक घण्टा मात्रै प्रयोगमा आउँदा पनि चार हजार ८० रुपैयाँ उठ्छ। कारागार प्रशासनले दिनमा १० घण्टा सबै फोनहरू खुला राख्ने भए पनि त्यसबाट एक घण्टा घटाएर नौ घण्टाको मात्र आम्दानी हिसाब गर्दा ३६ हजार ७२० रुपैयाँ हुन आउँछ। यो भनेको महिनाको ११ लाख एक हजार ६०० अर्थात् वर्षको एक करोड ३२ लाख १९ हजार २०० रुपैयाँ हो। यसको हिसाब चौकीदार र नाइकेहरूले कतै देखाउनु पर्दैन।
यो पनि : अभियुक्तलाई फूलमाला-सम्मानले ‘नायक’ बनाउने राजनीति
नाइकेहरू हरेक दिन अनलिमिटेड प्याक तानेर कुरा गराउने गर्छन्। प्याक तान्ने र फोन गराउने कामका लागि छुट्टै नाइके नियुक्त गरिएको कारागार प्रशासनले जानकारी दियो।
पुस २६ गते दिउँसो भद्र बन्दीगृहमा एक जना बन्दी दुई दिनदेखि फोन गर्ने पालो कुरिरहेका भेटिए। हातमा पहेँलो कागजसँगै एक घण्टा कुरा गर्ने मनसायले १०० र २० रुपैयाँका नोट लिएर फोनको नजिकै बसिरहेका उनले दाइलाई फोन गर्ने पालो पर्खिंदा दुई दिन बितिसकेको बताए। कारागारभित्रका चौकीदार, नाइके र सहनाइकेहरूले नजिकैबाट निगरानी गरिरहेका थिए। उनले हामीसँग थप कुरा गर्न चाहेनन्।
केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल अन्तर्गतका तीन वटा बन्दीगृहमा ९३ वटा फोनहरू यसरी नै निरन्तर सञ्चालनमा छन्। यी सबैमा टेलिफोन सुविधा लिएबापत कैदी–बन्दीहरूले तिर्ने मूल्य एउटै छ। दैनिक १० घण्टा व्यस्त रहने यी सबै फोनको औसतमा नौ घण्टाको दरले कमाइ हिसाब गर्ने हो भने दैनिक एक लाख ४४० र मासिक ३० लाख १३ हजार २०० रुपैयाँ हुन पुग्छ। यो हिसाबले वर्षमा तीन करोड ६१ लाख ५८ हजार ४०० रुपैयाँ उठ्छ।
यो रकम कुनै सरकारी कोषमा जम्मा हुने या सार्वजनिक प्रयोजनमा लगानी हुने होइन। केन्द्रीय बन्दीगृहका मूल नाइके बै लामा भन्छन्, “टेलिफोनका लागि लिइने शुल्क आन्तरिक व्यवस्थापनमा खर्च हुन्छ।” केन्द्रीय कारागारका सूचना अधिकारी मित्रलाल लुईंटेलले पनि टेलिफोनको आम्दानीबारे सोध्दा उही जवाफ दिए।
सिधाखर्च, तरकारी तथा खाद्यान्न बिक्री र टेलिफोनबाहेक किराना पसल, जिम हल, होटल, ट्याटु हाउस, ‘५ नम्बर मेस’, मुडा कारखाना, चाइनिज बुम्बा र लुँडो खेलबाट पनि नाइके र चौकीदारहरूले कैदी–बन्दीहरूबाट महिनावारी आर्जन गरिरहेका छन्। विभिन्न चाडबाडका नाममा उनीहरूले छुट्टै पैसा असुली गर्ने थुनामा बिताएर निस्किएका पीडितहरूले बताएका छन्।
पानी र जिमहलको आम्दानीमा मनोमानी
केन्द्रीय कारागार प्रशासनका अनुसार भद्र बन्दीगृहमा कैदी–बन्दीका लागि भनेर प्रत्येक दिन १२ हजार लिटरका तीन ट्यांकर अर्थात् ३६ हजार लिटर पानी सरकारले उपलब्ध गराउँछ। त्यसमध्ये दैनिक आठ हजार लिटर अर्थात् महिनामा २० ट्यांकर पानी जिम हलमा गइरहेको पाइयो।
बजारमा ठूलो एक ट्यांकर पानीको औसत मूल्य तीन हजार छ। यस हिसाबले भद्रमा जिम हलका लागि जाने २० ट्यांकर पानीको मूल्य महिनामा ६० हजार हुन्छ जसमा उठ्ने वर्षको सात लाख २० हजार रुपैयाँ सरकारले तिरेको हुन्छ। तर त्यो पानी खपत गर्ने जिमहलको आम्दानी नाइके र चौकीदारहरूले आफूखुशी परिचालन गर्छन्। जबकि कारागारको अवस्था छानबिन गर्न बनेका विभिन्न समितिहरूले आफ्नो प्रतिवेदनमा बन्दीगृहका कैदी–बन्दीहरूले पानीको अभाव झेलिरहेको उल्लेख गर्दै आएका छन्।
यो पनि : नेता र जग्गा कारोबारीको लाभ हेरेर विमानस्थलका नाममा बगाइँदैछ बजेट
आन्तरिक प्रशासनका अनुसार, भद्र बन्दीगृहका ११ सय कैदी–बन्दीहरूमध्ये महिनावारी जिम गर्ने ३०० छन्। उनीहरूबाट एक हजार मासिक शुल्क लिइन्छ। यस हिसाबले महिनामा तीन लाख उठ्छ। त्यसबाहेक जिमहलमा प्रवेश गर्दा जनही दुई हजार ५०० रुपैयाँ अलग्गै शुल्क उठाइन्छ।
राज्यकोषबाट मासिक ६० हजार खर्च गरेर दिइएको पानी सित्तैमा प्रयोग गरेर कमाएको त्यति नै रकम बराबरको अंश जिमहलको मर्मतसंभारमा खर्च भएको मान्दा पनि प्रयोगकर्ताबाट उठ्ने मासिक तीन लाख सोझै चौकीदार र नाइकेहरूकै हातमा पुग्छ जसको वार्षिक हिसाब ३६ लाख हुन्छ।
जबकि जिमहल सञ्चालन गरेर असुली गर्न कारागार ऐन र नियमावलीले दिँदैन। नाइके र चौकीदारहरू मिलेर कारागार परिसरभित्र जिमहलसँगै होटल र ‘ट्याटु हाउस’ पनि चलाइरहेका छन्। महान्यायाधिवक्ताको कार्यालयले गरेको हिरासत तथा कारागार अनुगमनको प्रतिवेदन २०७६ ले कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदी–बन्दीहरू रहेको निष्कर्ष निकालेको छ। त्यसरी खाँदिएर बस्न बाध्य भएकाहरूको कष्टलाई चौकीदार र नाइकेहरूले दोब्बर कमाइको अवसरमा बदलेका छन्।
भद्र बन्दीगृहमा सात वर्ष बिताएका प्रेम (नाम परिवर्तित) भन्छन्, “कैदी–बन्दीलाई सुत्ने ठाउँ छैन। उनीहरू भने भित्रै ठूलो होटल चलाएर पैसा कमाउने माध्यम बनाइरहेका छन्।”
चौकीदार र नाइकेहरू भने कैदी–बन्दीहरूको सुविधाका लागि यो काम गरिरहेको बताउँछन्। केन्द्रीय बन्दीगृहका चौकीदार प्रभाकर नरसिंह राणा भन्छन्, “जिम गर्ने मान्छेहरू भद्र बन्दीगृहमा जस्तो हाम्रोमा छैनन्। हाम्रोमा त ४०—५० जना मात्रै हो।”
मेसका नाममा मनपरी
भद्र बन्दीगृहमा ‘५ नम्बर मेस’ नाम राखेर कारागारभित्र एउटा होटल सञ्चालन भइरहेको छ। त्यहाँ एक छाक खानाको ३०० देखि ३५० रुपैयाँसम्म पर्ने बन्दीहरू बताउँछन्। होटलमा कतिपय कैदी–बन्दीलाई नाइके र चौकीदारहरूले जबरजस्ती खाना खुवाएर पैसा तिर्न नसक्दा कुटपिटसहित यातनासमेत दिने गरेको आन्तरिक प्रशासनका कर्मचारी नै बताउँछन्। एक वर्षअघि १८ हजार रुपैयाँ तिर्न नसक्दा एक जना कैदीमाथि कुटपिट भएको र यस्ता घटना दोहोरिइरहने कारागारको आन्तरिक प्रशासनका एक कर्मचारीले बताए।
साधारण कैदी–बन्दीले कारागार ऐन र नियमावलीअनुसार सरकारले उपलब्ध गराउने दैनिक ७०० ग्राम चामल र ८० रुपैयाँ सिधाखर्चबाट आफ्नो दैनिकी चलाइरहेका छन्। तर आम्दानीका लागि खोलिएका यस्ता होटलमा जबरजस्ती खाना खुवाएर चौकीदार र नाइकेहरूले पैसा असुलीसमेत गरिरहेको आन्तरिक प्रशासनमा कार्यरत कर्मचारी शुभम् (परिवर्तित नाम) बताउँछन्।
“कैदी–बन्दीलाई सरकारले चामल दिन्छ। पैसा पनि दिन्छ। त्यति हुँदाहुँदै पनि मेसका नाममा होटल सञ्चालन गरेर कैदी–बन्दीबाट जनही मासिक १८ देखि २५ हजार रुपैयाँसम्म असुली गरिरहेका छन्,” उनले भने। शुभम्का अनुसार टेलिभिजनको सुविधा लिएर सुविस्ताजनक कोठामा सुत्ने गरेका नाइके र चौकीदारहरूको कोठामा सरकारी अनुगमन टोलीले समेत प्रवेश पाउँदैनन्।
राज्य–संयन्त्रको अनदेखा
नाइके र चौकीदारहरूबाट आफूहरूमाथि यातना र अत्याचार हुँदा पनि कारागार विभागले अनदेखा गरेको भन्दै छानबिनका लागि कैदी–बन्दीहरूले २०७९ असारमा गृह मन्त्रालयमा उजुरी गरेका थिए।
कतिपय चौकीदार र नाइकेहरूका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत २०७२ सालयता पटक–पटक उजुरी परेको छ। ती मुद्दाबारे अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले बताए।
त्यस्ता उजुरी प्रहरीकहाँ पनि पुगेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का तत्कालीन प्रमुख, पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भन्छन्, “कारागारभित्र चौकीदार र नाइकेहरू असुली धन्दामा छन् भन्ने सूचना हामीलाई पनि आएको थियो। हामीले त्यसबारे अनुसन्धान अघि बढाएका थियौँ तर टुंगोमा पुगेन।”
भद्र बन्दीगृहमा एक वर्षअघि चौकीदार भएका रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त मनराज गुरुङविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा थियो। केन्द्रीय कारागारमा नाइके रहेका ‘रमेश बाहुन’ भनिने सुजन पौडेल लगायतका नाइके तथा चौकीदारहरू सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान घेराभित्र छन्।
गुरुङले सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट सफाइ पाए। सीआईबीका पूर्वप्रमुख ठकुरी भने यो मुद्दामा अनुसन्धान कमजोर भएको बताउँछन्। नाइके र चौकीदारहरूले कारागारलाई अकुत आर्जन गर्ने ठाउँ बनाइरहे पनि अनुसन्धान कमजोर हुँदा उनीहरूले छुटकारा पाउँदै आएको उनको निर्क्योल छ।
नियुक्तिमा कानून उल्लंघन
कैदी–बन्दीहरूबाटै असल चालचलन भएका कैदीलाई कारागारको आन्तरिक प्रशासनमा चौकीदार, नाइके र सहनाइके नियुक्त गर्ने कानूनी व्यवस्था छ। बन्दीहरूको संख्यालाई आधार मानेर कारागारको आन्तरिक प्रशासन र कारागार प्रशासक (जेलर)ले पठाएको विवरणअनुसार कारागार व्यवस्थापन विभागले नियुक्त गर्छ। कारागार ऐन र नियमावलीले चौकीदार र नाइकेहरूको अवधि एक वर्ष तोकेको छ।
जिउ मास्ने बेच्ने, जबरजस्ती करणी, कैदबाट भागे भगाएको, भन्सार चोरी निकासी पैठारी, लागुऔषधको कारोबार, भ्रष्टाचार, जासुसी, संरक्षित वन्यजन्तु, पुरातात्त्विक वस्तु लगायतका मुद्दासँग सम्बन्धित कसुरदारहरूलाई चौकीदार र नाइके नियुक्त गर्न कारागार ऐन २०७९ र नियमावलीले रोक लगाएका छन्। तर केन्द्रीय कारागारमा यिनै मुद्दाका कसुरदारहरू नै चौकीदार, नाइके र सहनाइकेहरूमा नियुक्त भइरहेका छन्।
भद्र बन्दीगृहका चौकीदार बुद्धिकुमार गुरुङ(लागुऔषध), महिला बन्दीगृहका चौकीदार कल्पना लिम्बू (जिउ मास्ने बेच्ने), केन्द्रीय बन्दीगृहका चौकीदार प्रभाकर नरसिंह (कर्तव्य ज्यान) मुद्दाका दोषीहरू हुन्। यी जिम्मेवारीमा नियुक्ति पाउनेमा केही लागुऔषध कारोबारी पनि छन्।

केन्द्रका चौकीदार राणा त अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगका कसुरदार हुन्। केन्द्रीय कारागारको आन्तरिक प्रशासन चलाउने जिम्मा पाएका कतिपय नाइके र चौकीदारहरू त एउटै मुद्दामा सँगै जेल परेका (म्यादी) देखिन्छन्।
कानूनविपरीत चौकीदार तथा नाइके नियुक्ति गर्नुपर्ने बाध्यता के हो भनी उकालोले सोधेको प्रश्नमा कारागार व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल भन्छन्, “कानूनी मापदण्डभन्दा बाहिर जान मिल्दैन। तर कतिपय चौकीदार र नाइकेहरू म आउनुभन्दा अगाडि नै नियुक्त भइसकेका थिए। आन्तरिक प्रशासनलाई नेतृत्व गर्ने मान्छे पनि चाहिन्छ।”
पालैपालो नाइके—चौकीदार: वर्षौँसम्म हालीमुहाली
क्रूर हत्याको मुद्दामा सजाय काटिरहेका चर्चित रानीबारी हत्याकाण्डका मुख्य दोषी मनराज गुरुङ भद्र बन्दीगृहका मूल नाइके हुन्। यसअघि उनी चौकीदार भइसकेका छन्। प्रहरीका अनुसार उनीमाथि १५ भन्दा धेरै हत्या, अपहरण र लुटपाटका मुद्दाहरू छन्। तापनि अहिले उनी कानून मिचेर भद्र बन्दीगृहको मूल नाइके भएका छन्।
लागुऔषधको मुद्दामा केन्द्रीय कारागारमा बसेका सचिन गुरुङ (नाम परिवर्तित) प्रायः सबै चौकीदार र नाइकेहरू मनराजजस्तै कानून मिचेर बनाइएको बताउँछन्। कारागारभित्र शिक्षण पेसामा समेत संलग्न रहेका गुरुङ भन्छन्, “बाहिर कसले कस्तो कानून बनायो त्यसले फरक पर्दैन। भित्र त उनीहरूकै शासन चल्छ। त्यसकारण साधारण कैदी–बन्दीमाथि यातना र लुटको शृंखला रोकिन गाह्रै छ।”
पाँच वर्षअघि वीरबहादुर तामाङ चौकीदार हुँदा मनराज मूल नाइके थिए भने अहिले बुद्धिकुमार गुरुङ चौकीदार हुँदा तामाङ मूल नाइके बनेका छन्। सबै नाइकेहरूलाई चलाउने जिम्मेवारी मूल नाइकेलाई दिइएको हुन्छ। यसरी पालैपालो गरी मिलेमतोमा पाँचदेखि १० वर्षसम्म कारागारको आन्तरिक प्रशासन एउटा समूहले चलाउने र त्यसपछि बदलिने समूहले पनि उसरी नै अवैध असुलीलाई निरन्तरता दिने गरेको सचिन गुरुङ बताउँछन्।
कारागारभित्र गुन्डागर्दीको आडमा पालो फेरी–फेरी चौकीदार र नाइके हुने प्रवृत्ति वर्षौंदेखि चलिरहेको १२ वर्ष भद्र बन्दीगृहमा बसेका सुनिल (नाम परिवर्तित) बताउँछन्। “उनीहरूको शासनविरुद्ध जान कोही पनि सक्दैनन्। उनीहरूका अगाडि कानून पनि झुक्छ,” उनले भने।
त्यहाँ २०७५ सालमा वीरबहादुर तामाङ चौकीदार भएका बेला मनराज मूल नाइके थिए। त्यसपछि वीरमान घलान चौकीदार बन्दा पनि मूल नाइकेमा उनी नै दोहोरिए। त्यस्तै, पहिलेका चौकीदार वीरबहादुर तामाङ फेरि मूल नाइके हुँदै २०७८ मा दोहोरिएर चौकीदार बन्न पुगे। २०७९ मा फेरि मनराजको चौकीदार बन्ने पालो आयो जो अहिले मूल नाइके छन्।
यो पनि : बर्बादी मात्र देख्दादेख्दै ‘म्याच फिक्सिङ’मा किन लाग्छन् खेलाडी
कानूनतः कारागारभित्र सञ्चालित कारखानामा काम गर्ने कामदारलाई सहनाइके बनाइन्छ। त्यसपछि कुनै निश्चित ठाउँ हेर्ने (विभागजस्तै) भूमिकासहित नाइके बनाइन्छ। त्यसपछि मात्र चौकीदारमा नियुक्त गरिन्छ। तर भद्र बन्दीगृह लगायतका केन्द्रीय कारागारमा यस्तो अभ्यास देखिँदैन।
केन्द्रीय कारागार प्रशासनले उपलब्ध गराएको चौकीदारहरूको विवरण हेर्दा कोही म्यादी (एउटै मुद्दामा जेल परेका व्यक्ति) छन् भने कोही दोहोरिएका छन्। केन्द्रीय बन्दीगृहका पूर्वचौकीदार जीतबहादुर गुरुङ दुई पटक चौकीदार भए। त्यहाँ कानूनविपरीत दोहोर्याएर यो जिम्मेवारी पाउने उनी एक्ला होइनन्। २०७५/७६ का चौकीदार आइतराम तामाङले त्यो मौका पाएका थिए। वर्तमान चौकीदार प्रभाकर नरसिंह राणा तामाङका धर्मपुत्रसमेत हुन्।
२०७७ सालमा भद्र बन्दीगृहमा चौकीदार बनेका वीरमान घलान २०८० मा ‘पोते नाइके’ भए। महिला बन्दीगृहमा पनि यस्तै अवस्था छ। यहाँ तिलमाया तामाङ २०७८ की चौकीदार हुन्। त्यसअघि २०७५ मा पनि उनै चौकीदार थिइन्। विगत १० वर्षका चौकीदारहरू लागुऔषध र जिउ मास्ने/बेच्ने मुद्दाका कसुरदार भएको कारागार प्रशासनले जानकारी दिएको छ।
एक पटक चौकीदार र नाइके भइसकेको व्यक्ति नदोहोरिऊन् भनेर नै कानूनमा एकवर्षे अवधि तोकिए पनि त्यसको उल्लंघन गर्ने अभ्यास ‘स्थापित’ भइसकेको छ। कानूनले नदिए पनि उनीहरूलाई कहिले चौकीदार त कहिले नाइके बन्ने आलोपालोमा कुनै विधिले छेकेको छैन।
आन्तरिक प्रशासनलाई कब्जामा लिने उद्देश्यले यस्तो आलोपालो प्रथा चलेको कारागारमुक्त भएका पूर्व कैदी–बन्दीहरू बताउँछन्। लागुऔषधको मुद्दामा १५ वर्ष ४ महिना भद्र बन्दीगृहमा बसेका रामराज गुरुङ (नाम परिवर्तित) आठ–दश वर्षदेखिका नाइके र चौकीदारहरूले अरूलाई आउनै नदिने बताउँछन्। “म कारागारभित्र जाँदा त अझ चौकीदारहरू फेर्ने चलनै थिएन। त्यतिबेला एकलौटी लुट्थे। कानून बनेपछि आलोपालो गरेर लुटी नै रहे। भद्रमा २०७५ सालयता कुनै नयाँ मान्छे चौकीदार भएर आएनन्,” उनले भने।
सरकारबाट सुविधा, बन्दीहरूबाट असुली
आन्तरिक प्रशासन ‘कब्जा’ गर्ने चौकीदार र नाइकेहरूले सरकारबाट कानून बमोजिमका सुविधासमेत पाउँछन्। आन्तरिक व्यवस्थापनमा सहयोग लिने प्रयोजनका लागि चौकीदार, नाइके र सहनाइके नियुक्ति गर्ने व्यवस्था कारागार ऐन २०७९ को दफा ५४ र कारागार नियमावली २०२० (पन्ध्रौँ संशोधन २०७९) को दफा २४ मा छ। सोही नियमावलीको दफा २५ मा उनीहरूले पाउने सुविधाबारे उल्लेख छ।
प्रत्येक कारागारमा महिला तथा पुरुष कैदी–बन्दीका लागि एक/एक जना तथा छुट्टाछुट्टै परिसर भएको प्रत्येक कारागार भवनका लागि एक/एक जना चौकीदार हुन्छन्। २५ बन्दी बराबर एक नाइके र १० बन्दी बराबर एक सहनाइके बनाइन्छ। यी जिम्मेवारी लिएबापत सरकारी कोषबाट चौकीदारले प्रतिदिन ७५ पैसा, नाइकेले ६० पैसा र सहनाइकेले ४५ पैसा पाउने व्यवस्था छ।
यो पनि : कालो धनको चेपुवामा अर्थतन्त्र: कहाँ छ देशको अदृश्य पुँजी?
कारागारभित्र इमानदारी प्रदर्शन गरेमा नाइके र चौकीदारलाई कैद सजाय छुटको समेत सुविधा छ। क्रमशः चौकीदारलाई एक वर्षको दुई महिना, नाइकेलाई वर्षको डेढ महिना र सहनाइकेलाई वर्षको एक महिनाको दरले कैद कट्टी हुने सुविधा कानूनले दिएको छ।
चौकीदार, नाइके र सहनाइकेले अरू बन्दी वा थुनुवालाई शारीरिक यातना दिएमा वा अरू बन्दीबाट कुनै किसिमको अनुचित फाइदा लिएमा जेलरले त्यस्तो व्यक्तिलाई जिम्मेवारीबाट तुरुन्त हटाउनुपर्ने कारागार नियमावलीको दफा २४ मा उल्लेख छ। तर सिंगो कारागारलाई ‘कब्जामा’ लिएर बन्दीहरूबाट अनुचित लाभ लिइरहँदा पनि उनीहरूको जिम्मेवारी खोसिनुको सट्टा तिनैले पटक–पटक नियुक्ति पाउँदै आएका छन्।
यसबारे राखिएको जिज्ञासामा कारागार व्यवस्थापन विभागका महानिर्देशक दाहालले भने, “मूल्यसूचीदेखि लिएर नाइके चौकीदारहरूमाथिका गुनासा हामीकहाँ आइरहेको हुन्छ। तर अनुगमनमा जाँदा त्यस्तो भेट्टाउँदैनौँ।” नाइके र चौकीदारहरूले कैदी–बन्दीलाई यातना दिएको र कारागारलाई व्यापारको केन्द्र बनाएको गुनासो आएपछि काठमाडौँ उपत्यकाका तीनलगायत देशभरका १२ वटा कारागारको प्रत्यक्ष अनुगमनमा भने कैदी–बन्दीहरूले त्यस्तो कुनै समस्या नराखेको उनले बताए।
यद्यपि आन्तरिक प्रशासनको जिम्मा शुरूदेखि नै कैदी–बन्दीहरूलाई दिने गरिएकाले व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको उनी स्विकार्छन्। चौकीदार र नाइकेहरूले जथाभाबी असुली र कैदी–बन्दीमाथि शोषण गरिरहेको विषय बाहिरिएपछि झापा, मोरङ, झुम्का र पर्सा कारागारमा चौकीदार नियुक्त नगरिएको र अन्य १२ कारागार प्रशासनले पनि चौकीदार सिफारिस नगरेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
थुनामा बसेर अपराधी समूहसँग साँठगाँठ
कारागारसम्बन्धी अनुसन्धानमा खटिएका नेपाल प्रहरीका एक अधिकृतका अनुसार कारागारका चौकीदार र नाइकेहरू ठूला–ठूला अपराधका गिरोहसँगको मिलेमतोमा पैसाको सौदाबाजीमा समेत संलग्न देखिने गरेका छन्। “त्यस्तो भेटिँदा हामीले उनीहरूको फोन लगायतका सामग्रीहरूसमेत बरामद गरेर कारबाही गरेका छौँ,” उनले भने।
तर जेलका चौकीदार र नाइकेहरूका त्यस्ता व्यवहार नियन्त्रण गर्न सजिलो नभएको ती प्रहरी अधिकृत बताउँछन्। “यसमा प्रहरीले चाहेर मात्रै सुधार हुँदैन। किनभने उनीहरूप्रति ठूला राजनीतिक दलका नेताहरूको सद्भाव छ,” उनी भन्छन्, “सिंहदरबार र बालुवाटारमा के हुँदैछ त्यो हामीलाई थाहा हुँदैन, तर कारागारका नाइके र चौकीदारहरूले थाहा पाइसकेका हुन्छन्।”

२०६७ सालमा जेलभित्रै युनुस अन्सारीमाथि गोली प्रहार भएको घटनालगायत कारागारका आपराधिक गतिविधिहरूको अनुसन्धानमा खटिएका पूर्वप्रहरी अधिकृत दीपेन्द्र अधिकारीको ठम्याइ पनि उस्तै छ। उनी भन्छन्, “दलका नेताहरू र सरकारको मानसिकता नै जसरी चल्छ, चल्न देऊ भन्ने खालको देखिन्छ। यसबाट जेलका चौकीदार र नाइकेहरूलाई आफूले जे गर्दा पनि हुन्छ भन्ने परेको हुन सक्छ। प्रायः ठूला अपराधका योजना जेलभित्रै बन्ने कारण पनि यही हो।”
कारागारमा पहुँचवाला, नेता र पैसावाला कैदी–बन्दीलाई राम्रो व्यवहार गर्ने चौकीदार र नाइकेहरूले अन्य साधारण कैदी–बन्दीलाई भने आर्थिक शोषणसँगै यातनासमेत दिने गरेको अधिकारी बताउँछन्। “कोही नेता वा डरलाग्दो खालका अपराधी गए भने तिनलाई गर्ने सम्मान छुट्टै हुन्छ,” उनी सुनाउँछन्, “सामान्य कैदीले पाउने भनेको यातना र शोषण हो। त्यहाँ करोडौँको चलखेल गर्ने पनि चौकीदार र नाइके नै हुन्।”
नाइके—चौकीदार बन्न आर्थिक चलखेल
कारागार प्रशासनले दिएको जानकारीअनुसार भद्र बन्दीगृहमा २०७५ सालमा वीरबहादुर तामाङपछि वरीयताका हिसाबले कुमार गुरुङ नामका मूल नाइके चौकीदार हुनुपर्ने थियो। तर वसन्त गुरुङले नियुक्ति पाए जो तत्कालीन ठूलो बहिदार मात्रै थिए। तामाङले मनराज गुरुङसँग मिलेर कानून र वरीयता मिच्दै वसन्तलाई चौकीदार बनाएको बन्दीहरूलाई थाहा थियो। पहिले नाइके बन्दा चौकीदारलाई पाँच लाख रुपैयाँ बुझाएको बताउने कुमार गुरुङले चौकीदारमा सिफारिस हुनका लागि ३० लाख जम्मा पारेको जानकारी उकालोलाई दिए।
“हामी २०६४/६५ तिर भित्र परेको मान्छे चौकीदार खाना पाएनौँ। त्यसको १० वर्षपछि आएकाहरू चौकीदार भएर निस्किए,” कुमार भन्छन्, “भूपाल स्याङतान चौकीदार थिए। मसँग पैसा थिएन। तर पहिला लगाएको गुन सम्झेर उनले मलाई नाइके बनाए। त्यसमा लागेको पैसा चाहिँ मैले दिनै पर्यो।”
आफू नाइके भएको खबर तत्कालीन चौकीदार भूपालको मुखबाट सुन्दा अचम्म लागेको बताउने कुमारले सुनाएअनुसार त्यसबेला भूपालले उनलाई आफ्नो कोठामा बोलाएर नाइके बनाउँदा लागेको पैसा मागे।
“मेरो त श्रीमतीबाहेक भेट्न आउने मान्छे पनि कोही छैनन्। घरमा पैसा पनि छैन। साना बच्चा छन् भनेँ,” लागुऔषधको मुद्दामा १५ वर्ष बन्दी जीवन बिताएका कुमार २०७५ जेठमा नाइके बन्दाको क्षण सम्झिन्छन्, “उनले एक–दुई महिनापछि बुझाए पनि हुन्छ भनेपछि भित्रै भएका साथीहरू कोहीसँग ५० हजार, कोहीसँग एक लाख ऋण गरेर दुई महिनामा पाँच लाख पुर्याइदिएँ।”
उनीबाट पाँच लाख रुपैयाँ मात्र लिए पनि अरू नाइकेहरूबाट ६ लाखदेखि आठ लाखसम्म लिएको हुनसक्ने कुमारको अनुमान छ। अहिले भद्र बन्दीगृहमा चौकीदार रहेका बुद्धिकुमार गुरुङ, मूल सहनाइके रहेका काजी हमाल, मोहन राना मगर, सुरेन्द्र बस्नेत, वरुण लामा, कर्मा लामालगायतले त्यसबेला उनीसँगै नियुक्ति पाएका थिए।
कुमार भन्छन्, “हामी जस्ताहरू त आक्कलझुक्कल मात्र नाइके–चौकीदार हुने हो। उनीहरूले आफ्नै साम्राज्य खडा गरेका छन्। नाइके बनाउनै उनीहरूले त्यसरी पैसाको चलखेल गर्छन्।”
चौकीदार–नाइकेहरूको बचाउमा दलका नेता
२०७७ असार ३० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले चौकीदार–नाइकेहरूबाट कैदी–बन्दीहरू चरम शोषण र उत्पीडनमा परिरहेको बताए। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको कारागार सुधार तथा कैदी व्यवस्थापनसम्बन्धी छलफलमा उनले भनेका थिए, “कारागारभित्र नाइके, चौकीदारहरूले कैदी–बन्दीमाथि चरम यातना दिइरहेका छन्। जेलभित्रै ठूलो अपराध भइरहेको छ।”
त्यतिबेला शक्तिशाली बहुमतीय सरकार चलाइरहेको नेकपाका नेता तथा गृहमन्त्रीले नै चौकीदार र नाइकेहरूको ज्यादतीबारे बोलेपछि यातना र शोषणमा परेका कैदी–बन्दीहरूमा चौकीदार र नाइकेको ‘शासन’बाट मुक्ति पाइने आशा पलायो।
यो पनि : साहुको ‘शासन’ले उठिबास लाग्दैगरेको ‘कमरेड गाउँ’
थापा गृहमन्त्री हुनासाथ शक्तिशाली मानिने विराटनगर कारागारमा चौकीदार रहेका ‘गुण्डानाइके’ अभिषेक गिरीलाई २०७४ चैत २३ गते काठमाडौँको डिल्लीबजार सारिएको थियो। विराटनगर कारागारमा गुण्डागर्दीको आडमा कैदी–बन्दीहरूलाई यातना दिएको र असुली गरेको विषय बाहिरिएपछि उनलाई गृहमन्त्री थापाकै निर्देशनमा जिम्मेवारीबाट हटाएर काठमाडौँ सारिएको कारागार व्यवस्थापन विभागमा कार्यरत तत्कालीन एक कर्मचारीले उकालोसँग बताए।
ती कर्मचारीका अनुसार त्यसबेलाको प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले गिरीलाई त्यहीँ राख्न चाहेका थिए। कांग्रेस नेताहरूकै आड–भरोसामा चौकीदार बनेको, कैदी–बन्दीहरूलाई यातना दिई विराटनगर कारागारलाई व्यापारको केन्द्र बनाएको आरोप गिरीमाथि थियो। गृहमन्त्री नै सक्रिय भएपछि उनको उनलाई तत्कालै सरुवा गरिएको थियो।
चार वर्षपछि २०७८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने। त्यसको चार महिना नपुग्दै कात्तिक १६ गते अभिषेक गिरी पुनः विराटनगर फर्काइए। तर त्यहाँका कैदी–बन्दीहरूले नाराबाजी गर्दै उनलाई प्रवेशमै रोक लगाए।
त्यसपछि असुरक्षाको कारण देखाउँदै सप्तरी कारागार पठाइएका गिरीले १७ दिनपछि तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणको निर्देशनमा आफ्नो रोजाइअनुसार पुनः विराटनगर फर्किने मौका पाए। यो घटनाले नाइके र चौकीदारसँग सत्ताधारी दल र तिनका प्रभावशाली नेताहरू कसरी जोडिन्छन् भन्ने छर्लङ्ग पार्ने कारागार व्यवस्थापन विभागका एक अधिकारी बताउँछन्।
कांग्रेस नेताको संरक्षणमा रहेका नाइके र चौकीदारहरूलाई चलाए पनि राजधानीकै शक्तिशाली र धेरै कैदी–बन्दी भएको केन्द्रीय कारागारअन्तर्गतका भद्र बन्दीगृहका नाइके र चौकीदारहरूको भने परोक्ष रूपमा संरक्षण गरेको आरोप तत्कालीन गृहमन्त्री थापामाथि लागेको थियो।
उनको गृहमन्त्रीकालमा भद्र बन्दीगृहमा वीरबहादुर तामाङ र वीरमान घलान चौकीदार भए। त्यतिबेला तामाङ र मनराज गुरुङ तत्कालीन सत्ताधारी दल नेकपामा खुलेरै लागेका थिए। मनराजको पृष्ठभूमि माओवादी समर्थक थियो। गृह मन्त्रालयमा काम गरेका एक कर्मचारीले बताएअनुसार पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेताद्वय देवी खड्का र विशाल खड्का उनलाई छुटाउन फाइल बोकेर गृह मन्त्रालय पुग्ने गर्थे।
दोलखाका प्रभावशाली माओवादी नेता विशाल बागमती प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन्। बुद्धिकुमार गुरुङ भने तत्कालीन मातृका यादव नेतृत्वको नेकपा (माओवादी)का चिनिएकै नेता थिए। कारागार प्रशासनस्रोतका अनुसार केन्द्रीय कारागारअन्तर्गतको महिला र भद्र बन्दीगृहमा प्रायः नेकपा माओवादीलगायत वामपन्थी दलहरूसँग सम्बन्ध भएका नाइके र चौकीदारहरू छन् भने केन्द्रीय बन्दीगृहमा नेपाली कांग्रेसका नेताहरूसँग टिकट भएका नाइके चौकीदारहरू छन्।

माओवादी द्वन्द्वकालको हत्या घटनामा भद्र बन्दीगृहमा झन्डै एक दशक सजाय काटेर निस्केका पूर्वमाओवादी नेता पुष्कर गौतम दलको निकट रहेर ठूला अपराध गरी कारागार पस्ने र आन्तरिक प्रशासनलाई कब्जामा लिने नाइके चौकीदारहरूको व्यवहार आफूले प्रत्यक्ष देखेको बताउँछन्।
“नाइके र चौकीदारहरूलाई दलीय संरक्षण छ, उनीहरूले आन्तरिक प्रशासनलाई कब्जामा लिएर कारागारलाई कमाउने केन्द्र बनाएका छन्,” गौतमले भने।
कारागार सुधार: प्रतिवेदनमै सीमित
चौकीदार र नाइकेहरूले कारागारमा गर्ने ज्यादतीबारे अध्ययन गर्न बेलाबेला समितिहरू बने पनि तिनले दिएका प्रतिवेदन दराजमा थन्किने उपक्रम चलिरहेको छ। नाइके र चौकीदारहरूको असुली र कारागारभित्रको व्यापारमा प्रायः प्रशासनिक संयन्त्रहरूकै संलग्नता देखिने भएकाले समस्या ज्युँका त्युँ रहेको पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल बताउँछन्।
उनी भन्छन्, “कारागार भनेको सुरक्षा संयन्त्र र आपराधिक दुनियाँ दुवैका लागि सम्भावनाको खानी हो। त्यहाँबाट जे निकाल्न सक्यो त्यो भयंकर मूल्यवान् हुन्छ। त्यहाँका चौकीदार र नाइकेहरू त्यस्ता शक्तिशाली हुन्छन्।”
कुनै एक कर्मचारी र प्रहरीले मात्रै नाइके तथा चौकीदारहरूको गतिविधिको कारण कारागारमा उत्पन्न बेथिति सुधार्न नसक्ने ढकालको निष्कर्ष छ। “अपराधमा सफल भइरहेका नाइके र चौकीदारहरूलाई हामीले कम आँक्नुहुँदैन,” उनी भन्छन्, “उनीहरूमा सामान्य मानिसको भन्दा माथिल्लो ज्ञान र सीप हुन्छ।”
कारागारमा कार्यरत प्रहरी अधिकारीहरूले नाइके र चौकीदारहरूका गतिविधिलाई नदेखेझैँ गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले थपे, “राम्रा प्रहरी अफिसर त्यहाँ जानै मान्दैनन्। पठाइहालेमा पनि उनीहरू फिर्ता भएर आउन बाध्य हुन्छन्। नत्र नाइके चौकीदारहरूले गरिरहेको क्रियाकलापलाई अनदेखा गरेर बस्नुपर्छ।”
गृह मन्त्रालयले २०६३ सालमा कारागार सुधार समिति, २०६४ मा कारागार सुधार उच्चस्तरीय सुझाव समिति र २०६८ मा कारागारको भौतिक तथा व्यवस्थापकीय पक्ष सुधार कार्यदल बनाएको थियो।
तत्कालीन महान्यायाधिवक्ता डा. युवराज संग्रौला नेतृत्वको कारागार सुधार कार्यदल २०६८, सर्वोच्च अदालतका सहरजिस्ट्रार विपुल न्यौपानेको संयोजकत्वमा गठित अध्ययन टोली २०७३, पुनरावेदन अदालतहरूले ६४ वटा कारागार निरीक्षणपछि दिएको प्रतिवेदन २०७२, महान्यायाधिवक्ता कार्यालयको हिरासत तथा कारागार अनुगमन २०७४ लगायतका समितिहरू गठन भएर प्रतिवेदनहरू बुझाएका छन्। तर यी प्रतिवेदनहरू कार्यान्वयनको तहमा पुगेका छैनन्।
पूर्वएआइजी ढकाल भन्छन्, “सुधारका लागि समितिहरू कति बने कति, तर सुधार भएन। यसबाट बुझ्नुपर्छ, जेल सुधारमा राज्यको चासो छैन। अर्थात् भित्रका दाइ–भाइ नाइकेहरूले जसरी शासन चलाइरहेका छन्, त्यसको निरन्तरता अझै भइरहने देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
