नेप्से‍ १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

काठमाडौँ– गत साता निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता कारोबारको शुरूआती दुई दिनमा लगातार बढेको छ।

आइतबार दोहोरो अंकले बढेको परिसूचक सोमबार १०.२६ अंकले उकालो लागेको हो। नेप्से परिसूचक ०.४८ प्रतिशतले बढेर २१०४.७२ को विन्दुमा कायम भएको हो।

३११ कम्पनीको एक करोड २३ लाख २२ हजार ७०५ कित्ता शेयर एक लाख तीन हजार १५३ पटक खरिदबिक्री हुँदा चार अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैंकिङ समूह ०.०६, लघुवित्त समूह ०.०५ र निर्जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूह १.६४ र जलविद्युत् समूह १.०८ प्रतिशतले बढेका छन्।

युनियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ भने गरिमा डिभेन्चर–२०८५ को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोमबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै ६० करोड १६ लाख ७१ हजार ८०९ रुपैयाँ बराबरको नौ लाख ५११ कित्ता शेयर किनबेच भएको छ।