दरबार हत्याकाण्डको छानबिन हुने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्।

बाराको सिमरा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ।

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाविरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले फरक कार्यक्रममा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताए। बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिए। 

“निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्री दाहालले भने, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी-सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ।”

‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे।