एकीकृत समाजवादीले उमेर हद नराख्ने, नेतृत्व चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले सबै कमिटीका पदाधिकारी तथा सदस्यको चयन महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचितबाट गर्ने निर्णय गरेको छ।

काठमाडौँ– सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरूका लागि उमेर हद नराख्ने निर्णय गरेको छ। सोमबार सम्पन्न पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालले यस्तो बताएका हुन्।

उनले केन्द्रीय परिषद् बैठकमा महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरू सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुने, केन्द्रीय कमिटीको संख्या १९९ जनाको हुनेछ र केन्द्रीय कमिटीका पदाधिकारीहरूको संख्या १९ हुने प्रस्ताव गरेका थिए। सो प्रस्तावलाई परिषद्का बहुमत सदस्यले पारित गरेका हुन्।

प्रस्तावमा उल्लेख भएअनुसार केन्द्रीय कमिटीभित्रका संरचना केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी रहनेछ। केन्द्रीय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय परिषद् रहनेछन्। सबै कमिटीका पदाधिकारी तथा सदस्य चयनका लागि महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ।

उनका अनुसार प्रदेश कमिटीको संख्या ७५ देखि ९९ सम्मको रहनेछ। प्रदेश कमिटीमा पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष दुई, सचिव एक र उपसचिव तीन गरी सात रहने छ।

जिल्ला कमिटीको संख्या ५५ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कायम गरी एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जना थप गर्ने गरी तय प्रस्तावमा उल्लेख छ। जिल्ला कमिटीका पदाधिकारीको संख्या सात, पालिका कमिटीमा ४५ हुनेछ। 

उनका अनुसार स्थानीय कमिटीका पदाधिकारीहरू पाँच जना हुने छन् भने वडा कमिटीको संख्या बढीमा ३५ जनाको हुनेछ। पार्टीका सबै कमिटीमा समावेशिताको सिद्धान्तअनुसार युवाको प्रतिनिधित्व २० प्रतिशत रहने उनले बताए।

“महाधिवेशन र अधिवेशनका प्रतिनिधि छनोटसम्बन्धी विषय र स्थानीय कमिटीको संख्या र पदाधिकारीको विषय पारित भएदेखि नै लागू हुनेछन्। स्थानीय कमिटीको संख्या जुन तोकेका छौँ, त्यो संख्या र स्थानीय कमिटीभित्रको पदाधिकारीको संख्या पनि अबदेखि अधिवेशन गर्दादेखि लागू गर्नेछौँ,” उनले भने।

‘जबज’ त्याग्न सकिँदैन : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को विचारधारालाई त्याग्न नसक्ने बताए। बैठकमा बोल्दै अध्यक्ष नेपालले जबजको उपादेयता छैन भन्ने मान्यता आत्मघाती र आत्मसमर्पणवादी भएको जिकिर गरे।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले अहिले पनि कम्युनिस्ट पार्टीहरूमाथि तानाशाही र अधिनायकवादीको आरोप लगाउने क्रम सकिएकाले त्यसको प्रतिवाद गर्न पनि जबजको विकल्प नभएको बताए।

उनले मदन भण्डारीद्वारा प्रतिपादित सो विचारधाराको ‘पेटेन्ट राइट’ आफ्नो पार्टीसँग रहेको दाबी गर्दै त्यसलाई मिल्काइदिऔँ भन्ने खालको मान्यता मान्य नहुने चेतावनी दिए।

उनले जनताको बहुदलीय जनवादको मान्यतालाई त्यागेर तानाशाही व्यवस्थामा आफूहरू जान नसक्ने तर्कसमेत गरे। “एकाधिकारवादी जनताको बहुदलीय जनवादलाई त्याग्न सकिँदैन । त्यसलाई त्याग्नुको मतलब हामी एकदलीय तानाशाहीमा जानु हो,” उनले भने।

‘पार्टीको कार्यदिशा स्पष्ट पारौँ’
सम्मानित नेता खनालले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताए। पार्टीले जनताको बहुदलीय जनवाद र समाजवाद दुवै कुरा भनिरहेको भन्दै जबजमा जाने कि समाजवादमा जाने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। उनले पार्टीले जबज मान्ने कुरा खतरा हुने बता उल्लेख गर्दै यस विषयमा आवश्यक छलफल र बहस गरी स्पष्ट हुनुपर्नेमा जोड दिए।

“हामीले आउने महाधिवेशनलाई हर प्रकारले सफल महाधिवेशनको रूपमा सम्पन्न गर्न सक्नुपर्छ। त्यो महाधिवेशनमा प्रस्तुत गर्ने हाम्रा कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति, क्रान्तिको कार्यक्रम छ। हाम्रो क्रान्तिको बाटो छ यी कुराहरूमा छ्याङ्ग हुने गरी हामीले हाम्रा नीतिहरू तय गर्न सक्नुपर्छ,” उनले भने। 

उनले तत्कालीन नेकपाको विभाजनमा आन्तरिक कारण मात्रै थियो कि बाह्य कारण पनि थियो भनेर समीक्षा गर्नुपर्ने बेला आएको बताए। उनले अमेरिका र भारतले देशलाई नियन्त्रणमा लिही कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउन लागेको बताए। उनले यी दुई देशले नेपाललाई चीनविरोधी अखडाको रूपमा रूपान्तरित गर्न लागेको पनि बताए।