देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै

पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको जनस्तरबाट टिप्पणी हुने गरेको छ।

फाइल तस्वीर।

काठमाडौँ– शहीदको सम्मानमा विभिन्न कार्यक्रमका साथ मंगलबार शहीद दिवस मनाइँदैछ। 

प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा माघ १६ गते शहीद दिवस मनाउने चलन छ। यस वर्ष पनि शहीद योगदानको चर्चा गर्दै माघ १० देखि नै विभिन्न कार्यक्रम आयोजना गरिएका थिए। 

तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा २०१२ सालदेखि शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो। 

दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी आयोजना गरिएको छ। प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरले जनाएको छ। 

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ। यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ। 

पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ।

प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए। 

यसैबीच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ।