इराकलाई हराउँदै जोर्डन एशियन कपको क्वार्टरफाइनलमा

जोर्डनले सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी २ मा ताजिकिस्तानविरुद्ध खेल्ने छ।

काठमाडौँ– इराकलाई हराउँदै जोर्डन एएफसी एशियन कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। 

सोमबार राति खेलको इन्जुरी समयमा दुई गोल गर्दै जोर्डनले इराकलाई ३–२ ले पराजित गरेको हो। खेलमा अग्रता भने जोर्डनले नै लिएको थियो।

पहिलो हाफको अन्त्यतिर याजान अल–नैमाटले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए। 

६८औँ मिनेटमा इराकका साद नाजीले गोल गर्दै खेल बराबरीमा ल्याए। आइमान हुसेनले ७६औँ मिनेटमा गोल गरेपछि इराकले २–१ को अग्रता बनायो। 

त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा अल–अरब र सातौँ मिनेटमा अल–राशदानले गोल गर्दै जोर्डनलाई ३–२ को जित दिलाए।

जोर्डनले सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी २ मा ताजिकिस्तानविरुद्ध खेल्ने छ।