जीर्ण भवनबाट प्रसूति सेवा, पालिकाले बेवास्ता गरेको गुनासो

छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ। वरिपरि बनमाराको घारी छ। वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी। 

सिरहा– सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह‍को भौतिक संरचना जीर्ण भएको छ। 

छानाको जस्तापाता खियाले खाएर ठाउँ ठाउँमा प्वाल परेको छ। वरिपरि बनमाराको घारी छ। वर्षामा दबदबे हिलो र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराउन बाध्य छन्, स्वास्थ्यकर्मी। 

यहाँ कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ। “वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ। जस्तापाता तातिएर उखुम हुन्छ। नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निसास्सिँदो धुलो उठ्ने गर्छ,” उनले भनिन्, “सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन।”

गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ। स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्छन्। स्तरोन्नति गर्न गोलबजार नगरपालिकालाई पटक–पटक अनुरोध गरिए पनि समाधान हुन नसकेको श्रेष्ठले बताइन्। 

वर्षौदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारले बताइन्। उनी यहाँ २०६३ सालदेखि कार्यरत छिन्। “प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो। त्यसपछि शय्या झिकेर कौसीमा राख्नुपरेको छ,” उनले भनिन्, “वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ।”

गोलबजार स्वास्थ्यचौकी प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पहल गरे पनि प्रगति हुन नसकेको गुनासो गरे। “प्रसूति गृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ। कोठामा छिर्ने ढोका नै साँघुरो छ। दुई जना स्वाथ्यकर्मी र एकजना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ,” उनले भने, “नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ। निकास छैन। फोहर पानी टेकेर भित्र पस्नुपर्छ। सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराएका छौँ। तर सुधार हुँदैन।” 

प्रसूति केन्द्र चौबिसै घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन। पाले सुत्ने खाटमा ‘अल्ट्रासाउन्ड’ गरिन्छ। स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन्। सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ। प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन। कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ।

राजदेव साह सुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको स्थानीय राजदेश साहले बताए। “प्रसूति सेवाको यो हालत छ। यो त जनताको स्वास्थ्यसँग हदैसम्मको खेलबाड हो,” उनले भने, “नगरपालिले तत्काल ध्यान देओस्।”

अहिले स्थानीय गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ। ६० हजारभन्दा माथि जनसंख्या भएको गोलबजार नगरपालिकामा एमबीबीएस चिकित्सक छैनन्। 

हालै स्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई अल्ट्रासाउन्ड मेसिन प्रदान गरेको थियो। त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ। अनमी निरीक्षक शाक्यले भनिन्, “मैले तालिम त लिएर आएँ। तर मेसिन त बिग्रेको आएछ। कसरी काम गर्ने? नगरपालिकालाई जानकारी गराएको छु। अहिलेसम्म कुनै वास्ता गरिएको छैन।”

स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो। सडक विभागले खाली गरेर रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको हो। “३० वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन,” उनले भने, “बाख्राको गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ।”

जग्गाको विवाद भएकाले प्रसूति गृह मर्मतसम्भार गर्न नसकिएको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बताए। उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यत्र स्थानान्तरण प्रक्रिया शुरू गरेको छ।  

२०५० सालमा स्थापना भएको यस प्रसूतिगृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ। महिनामा १५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गर्दै आएको छ। 

प्रसूतिगृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय रामजी यादवले प्रसूतिगृहको अवस्था देखेर चिन्ता लागेको बताए। भने, “३० वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ। आज पनि त्यस्तै अवस्थामा रहेछ। कुनै सुधार भएको रहेनछ। यो अवस्था देखेर मनमा असाध्यै पीडा हुन्छ।”