अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदीको आग्रह

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले अन्तर्राष्ट्रिय मानवीय कानून अरूलाई जस्तै इजरायलमा पनि लागु हुनुपर्ने बताएका छन्।

साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन्। 

उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो आग्रह गरेका हुन्। साउदीको स्वामित्वमा रहेको अल अरेबिया न्युज च्यानलका अनुसार सो क्रममा उनीहरू दुवैले गाजामा युद्धविराम गर्न आह्वान गरे। 

इजरायलले गाजाको मानवीय अवस्थाबारे अन्तर्राष्ट्रिय न्यायालयको निर्णयलाई अस्वीकार गरेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय मानवीय कानून अरूलाई जस्तै इजरायलमा पनि लागु हुनुपर्नेमा जोड दिए। 

“साउदी अरेबिया र अरू अरब राष्ट्रले प्यालेस्टिनी जनताको सुरक्षाका निम्ति दबाब जारी राख्छ,” उनले भने।