पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

सरकारी गोप्य दस्ताबेज चुहाएको आरोपमा पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई सो सजाए सुनाइएको हो।

आम चुनावअघि कराँचीमा आयोजित कार्यक्रममा इमरान खानका समर्थक/ तस्वीर: ईपीए

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई त्यहाँको अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

गोपनियता ऐनअन्तर्गत गठन गरिएको विशेष अदालतले मंगलबार पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरैशीलाई सिफर मुद्दामा उक्त सजाय सुनाएको बीबीसीले जनाएको छ। सिफर प्रकरणमा इमरान खानमाथि कूटनीतिक कागजात चुहावटको आरोप छ। इमरान खानले यी कागजातहरू फिर्ता नगरेको आरोपपत्रमा भनिएको छ।

उनको पार्टी पाकिस्तान ए तहरिक (पीटीआई)ले एक विज्ञप्तिमा भनेको छ, “पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई झुटो सिफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको छ, न त मिडियालाई पहुँच दिइएको छ, न त यसको ट्रायल नै सार्वजनिक गरिएको छ।”

आगामी फेब्रुअरी ८ मा हुन गइरहेको चुनावको मुखैमा खानलाई यस्तो सजाय सुनाइएको हो। पूर्व विदेशमन्त्री शाह महमूद पीटीआईको उपाध्यक्ष पनि हुन्। पीटीआईले अदालतको उक्त निर्णयलाई माथिल्लो न्यायिक निकायमा लैजाने जनाएको छ। पार्टीले उक्त सजाय निलम्बनकाे आशा गरेको छ।

खान अहिले पनि जेलमै छन्। २०२२ मा प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खान भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका छन्।